गान्तोक, 23 अगस्तः सिक्किमे नागरिक समाजविरुद्ध एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले मानहानिको मुद्दा लगाउने भएका छन्।
यसका साथै सिक्किमे नागरिक समाजले लगाएको आरोपलाई पूर्ण रूपमा खारेज गर्दै यसलाई आफूविरुद्ध ‘षडयन्त्र’ भएको उनले दावी गरेका छन्।
आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खालिङले कथित पीडिताले पोस्टमार्फत पठाएको ‘किर्ते’ एफआईआरमा उल्लिखित मितिमा आफू राजधानी गान्तोकबाहिर रहेको ठोकुवा गरे।
उनले एफआईआरमा उल्लिखित मितिमा आफू सोरेङमा आयोजिक पार्टीको कार्यक्रममा सहभागी रहेको बताउँदै केही सोशल मिडियामा रहेका भिडियो क्लिप र स्थानीय समाचार पत्रहरूमा प्रकाशित समाचार सबुतका आधारमा मिडियाअघि राखे।
सिक्किमे नागरिक समाजले 21 अगस्तका दिन लगाएको आरोपविरुद्ध हिजो नै सदर थानामा प्राथमिकी दर्ता गरेको जानकारी दिँदै पासाङ शेर्पा, भारत बस्नेत, छितेन टाशी भोटिया र सोनाम शेर्पाविरुद्ध चाँड़ै अदालतमा मानहानि मुद्दा दर्ता गर्ने खालिङले बताए।
यसबाहेक खुश्बु कुमारी बर्मा, क्रान्तिकारी अनमोल सोरेङ, अनिल लिम्बू र अभिनाश सिक्किमे याखा नामक फेसबुक पेजविरुद्ध पनि एफआईआर दर्ता गरेको बताए।
सिक्किमे नागरिक समाजको पक्षबाट पासाङ शेर्पाले जुन एफआईआर प्रतिलिपि सार्वजनिक त्यो गलत र मनगढन्ते रहेको दावी गर्दै नागरिक समाजले उक्त एफआईआरको माध्यमबाट एसकेएम पार्टी र सरकारलाई बदनाम गराउने प्रयास गरेको जेकब खालिङले बताए।
सिक्किमे नागरिक समाज र कतिपय फेसबुक पेजमा सार्वजनिक गरिएको ‘किर्ते’ एफआईआरका कारण आफ्नो मानहानि र आफ्नो छविमा धक्का लागेकोले उनीहरूविरुद्ध मानहानि मुद्दा दर्ता गर्ने जानकारी दिँदै आफूलाई न्यायपालिकामाथि पूर्ण भरोसा रहेको बताए।
न्यायालयले आफूलाई न्याय दिएर दोषीलाई कड़ा सजाय दिनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको खालिङको भनाइ छ। सिक्किमे नागरिक समाजले जुन एफआईआर सार्वजनिक गरेको छ, त्यो भरत बस्नेतको अङ्ग्रेजी र छितेन टाशी भोटियाको अनुभवमा पासाङ शेर्पाले तयार पारेको हुनसक्ने खालिङको आशङ्का रहेको छ।
उनले आफूविरुद्ध 25 जुलाईबाट नै षड्यन्त्र शुरू भएको पनि दावी गरे।
खालिङले भने, “खुश्बुहरूबाट 25 जुलाईदेखि नै मेरोविरुद्धमा षड्यन्त्र शुरू भएको रहेछ। घुर्पिसेको आशीर्वादमा यो षड्यन्त्रको प्लटिङ भएको हुनसक्छ।”
एउटा टोली नै लागेर एकजना नारीलाई बदनाम गराएको बताउँदै जेकब खालिङले डोन्सी लामाको पक्षमा न्यायको अपील गरे।
नारीको बदनाम गराउने आरोपीमाथि कड़ा कारबाही हुनुपर्छ भन्ने उनको माग छ।
“उक्त टोलीले डोन्सी लामाको इज्जत फर्काउन सक्नुपर्छ”-खालिङले भने।