डुवर्सलाई विश्वासमा लिएर कार्य गर्नेछुः विमल

0
882

दार्जिलिङ, २४ अगस्तः आज गोजमुमो-१ डुवर्सका प्रतिनिधिहरूसँग विमल गुरुङले स्थानीय पातलेबासस्थित पार्टी कार्यालयमा एक बैठक गरे।

बैठकलाई सम्बोधन गर्दै उनले डुवर्सलाई लिएर विश्वासको आधारमा कार्य गर्ने तथा डुवर्समा गठन गरिने कमिटीहरूले पनि विश्वासकै आधारमा कार्य गर्नुपर्ने बताए।

“८६ को आन्दोलनमा पहाड़ र तराई भन्दा  पनि बढ़ी योगदान डुवर्सले दिएको हुनसक्छ। तर आन्दोलनपछि डुवर्सलाई कसरी सञ्चालन गरेर लानु पर्छ भन्ने नजान्दा डुवर्सलाई घिसिङले अदेखा गरेको जस्तो लाग्दैछ”, विमलले भने।

अर्कोतिर विमलले जाति माटो र क्षेत्रलाई कदापि धोका नदिने पनि दोहोऱ्याए।

साथै  पूर्व, मध्य, पश्चिम र सुनकोशका एक एकवटा कमिटी गठन गर्ने निर्देश पनि उनले ती प्रतिनिधिहरूलाई दिए।

बैठकमा विशेषगरी डुवर्समा साङ्गठानिक कार्य तथा सङ्गठनलाई दह्रो बनाउन के-कस्ता कार्य गर्नुपर्छ भन्ने विषयमा धेर चर्चा परिचर्चा गरिएको थियो।

यसैगरी बैठकमा पूर्व, मध्य र पश्चिम डुवर्सका मोर्चा प्रतिनिधिहरूले डुवर्स क्षेत्रका समस्याहरूका समाधान एवं साङ्गठनिक गतिविधिलाई सुचारू रूपमा सञ्चालन गर्न विशेष पहल गरिनुपर्ने विषयमा आ-आफ्ना विचार र सुझाउ राखेका थिए।

साथै उनीहरूले यसपालि विगतमा जस्तै डुवर्स छुट्नु नहुने पनि बताए।

बैठकमा केन्द्रीय महासचिव रोशन गिरी, सहसचिव शिव सुनार, प्रियवर्धन राई, केन्द्रीय समिति सदस्य मदन लामा, मधुकर थापा, नारी मोर्चा केन्द्रीय समिति सदस्य अमृता राई, पूजा राई, हस्तमाया विश्वकर्मा साथै पूर्व, मध्य र पश्चिम डुवर्सका प्रतिनिधि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here