किर्ते एफआईआर काण्डमा पुलिसले दियो स्पष्टीकरण

0
847

गान्तोक, 24 अगस्तः गत केही दिनदेखि चर्चामा रहेको ‘किर्ते’ एफआईआर काण्डबारे आज सिक्किम पुलिसबाट पनि स्पष्टीकरण आएको छ।

आज गान्तोकस्थित पुलिस मुख्यालममा पत्रकार सम्मेलन गरी सिक्किम पुलिसले कथित किर्ते एफआईआरबारे आफ्नो स्पष्टीकरण दिएको हो।

सिक्किम पुलिसका प्रवक्ता तथा डीआईजी (रेञ्ज) प्रवीण गुरुङले चर्चामा रहेको उक्त किर्ते एफआईआर 9 जुलाईका दिन पूर्व जिल्ला पुलिस अधीक्षक कार्यालयले प्राप्त गरेको जानकारी दिए। यद्यपि, पूर्व जिल्ला पुलिस अधीक्षक डा. शिव प्रसाद येल्लेसरी त्यस समय विदामा रहेका कारण 12 जुलाईमा मात्र उनले यो हात पारेर छानबिन शुरु गरेको अनि छानबिन क्रममा उक्त एफआईआर जाली रहेको प्रामाण पाइपछि यसबारे मुद्दा अघि नबढ़ाएर बन्द गरिएको जानकारी दिए।

डीआईजी गुरुङले जानकारी दिएअनुसार स्पीड पोस्टबाट पठाइएको उक्त एफआईआर 12 जुलाईमा पूर्व जिल्लाका पुलिस अधीक्षकले हात पारेपछि गान्तोकका एसडीपीओको माध्यमबाट यसबारे छानबिन गर्नपठाएका थिए। यसपछि सदर पुलिसका पीआईको माध्यमबाट एसआई उपसना शर्मालाई यसबारे प्रारम्भिक जाँच गर्ने निर्देश भयो। यसपछि एसआई उपसना शर्माले कथित एफआईआर कर्तालाई 15 जुलाईका दिन सम्पर्क गर्दा उक्त एफआईआरमा लेखिएको फोन नम्बरमा सम्पर्क गर्दा फोनमा सम्पर्क हुन सकेन। तथापि अर्को माध्यम लगाएर कथित पीडितासित सम्पर्क गरी थानामा बोलाएर सोधखोज गर्दा उक्त एफआईआर आफूले  नलेखेको पीडितले स्वीकार गरिन्।

प्रारम्भिक जाँचमा पुलिस अधीक्षकलाई स्पीड पोस्टबाट प्राप्त भएको उक्त एफआईआर किर्ते रहेको पाएपछि पुलिसले यो मुद्दालाई अघि बढ़ाउन आवश्यक नठानेर मुद्दालाई नै बन्द गरेको डीआईजी गुरुङले बताए।

एफआईआर प्राप्त भएपछि पुलिसले किन मुद्दा दर्ता गरेन्? भन्ने प्रश्नको जबाबम डीआईजीले भने, “स्पीड पोस्टबाट जुन एफआईआर प्राप्त भएको थियो, त्यसमा उल्लेखित घटना नोभेम्बर 2020-को थियो। यो मुद्दा तीन महिनाभन्दा पुरानो भएकाले यस्ता कुनै पनि मुद्दामा प्राम्भिक जाँच गरेर सत्यता देखिए मात्र मुद्दा दर्ता गरेर अघिको छानबिन गर्नुपर्ने पुलिसलाई अधिकार छ। त्यसकै आधारमा प्राम्भिक जाँच गर्दा एफआईआर नै किर्ते पाएको र कथित पीडितले पनि आफूले एफआईआर नगरेको बताएपछि यो मुद्दालाई बन्द गरिएको हो।”

अर्कोतर्फ किर्ते एफआईआरका कथित आरोपीसित उक्त एफआईआरको सन्दर्भमा पुलिसले सम्पर्क नगरेको कुरा पनि स्वीकार गरेको छ। पीडितले एफआईआर नै किर्ते भएको बताएपछि कथित आरोपीसित पुलिसले सम्पर्क गर्नुपर्ने आवश्यकता नै नरहेको डीआईजी गुरुङले बताए।

यसबाहेक पूर्व जिल्लाका पुलिस अधीक्षक र सोशल मिडिया तथा सिक्किमे नागरिक समाजले सार्वजनिक गरेको एफआईआरमा उल्लेखित विषय एउटै भएपनि प्रतिलिपि भने अलग-अलग रहेको पुलिसको भनाइ छ।

पुलिसले किर्ते एफआईआरमा उल्लेखित विषयको जाँचलाई बन्द गरेको भएपनि यो किर्ते एफआईआर कसले पुलिसलाई पठायो? भन्ने सन्दर्भको जाँच भने चलिरहेको बताएको छ। तथापि लगभग दुई महिनाको अन्तरालमा यसको जाँच कहाँसम्म पुग्यो? र के-के पत्तो लाग्यो? भन्ने विषय बताउन आवश्यक नरहेको डीआईजीले बताए।

उक्त एफआईआर कसले लेख्यो, त्यसको जरासम्म पुग्ने प्रयासमा पुलिस रहेको उनले बताए।

अर्कोतर्फ, सिक्किममा विगत केही दिनदेखि चर्चामा रहेको ‘किर्ते’ एफआईआर सार्वजनिक गर्ने सिक्किमे नागरिक समाजका प्रवक्ता पासाङ शेर्पा, अध्यक्ष भरत बस्नेत र मुख्य संरक्षक छितेन टाशी भोटियाको अहिले पक्राउ आवश्यक नरहेको सिक्किम पुलिसले बताएको छ।

सिक्किमे नागरिक समाजले उक्त एफआईआर सार्वजनिक गरेपछि कथिप पीडिता र कथित आरोपी दुवै सिक्किमे नागरिक समाजका सदस्यहरूविरुद्ध प्राथमिकी दर्ता गराएका भएपनि पुलिसले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन।

जानकारीअनुसार पुलिसले भारती दण्ड संहिताको धारा 419 (छल), 469 (झुटरचना) र 500 (मानहानि) अन्तर्गत पासाङ शेर्पा, भरत बस्नेत र छितेन टाशी भोटियाविरुद्ध गान्तोकको सदर थानामा मुद्दा दर्ता गरेको भएपनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन्। यद्यपि तीनै जनालाई थाना बोलाएर बयान दर्ता गराएको पुलिसले बताएको छ।

आरोपीको पक्राउ उसका लागि सजाय होइन भन्दै सिक्किम पुलिसले आवश्यकता परेको खण्डमा मात्र उक्त तीनजनालाई पक्राउ गरिने बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here