गोर्खाहरूले पुस्तौँदेखि मातृभूमिको सुरक्षाका लागि प्राणको आहुति दिँदै आइरहेका छन् : बिष्ट

0
908

दार्जिलिङ, २५ अगस्तः गोर्खा योद्धाहरूले पुस्तौँदेखि मातृभूमिको सुरक्षाका लागि आफ्नो प्राणको आहुति दिँदै आइरहेको सांसद राजु बिष्टले बताएका छन्।

उनका अनुसार देश स्वतन्त्रपछि पनि कुनै यस्ता दिन छैन, जहाँ गोर्खा सैनिकहरूलाई आफ्नो मातृभूमिको सुरक्षाका लागि बहादुरीको पुरस्कारले सम्मानित नगरिएको होस्।

आज बलिदान दिवसको अवसरमा संसद परिसरमा रहेको दुर्गा मल्लको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका बिष्टले यस्तो बताएका हुन्।

‘हाम्रा वीर गोर्खा सैनिकहरूले हाम्रा महान् देशभक्त शहीद दुर्गा मल्लकै पदचिह्नको अनुसरण गरिरहेका छन्’, उनले भनेका छन्।

आज, बलिदान दिवसका दिन रक्षा राज्यमन्त्री एवं पर्यटन राज्यमन्त्री अजय भट, राज्यसभा सांसद एवं भाजपा मुख्य प्रवक्ता अनिल बलुनी, सांसद राजु बिष्ट र भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष मुनिष तामाङको नेतृत्वमा परिसङ्घका प्रतिनिधिहरू, सन्दीप राना तथा दिल्ली-राष्ट्रिय राजधानी क्षेत्रका गोर्खाहरूले स्वतन्त्रता सङ्ग्रामी शहीद मेजर दुर्गा मल्लप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘म सबैजनालाई, विशेषगरी हाम्रा युवाहरूलाई यस्तै देशभक्तिपूर्ण भावना र हरेक क्षेत्रमा सर्वोत्कृष्ट बन्ने लक्ष्य लिएर कठोर मिहिनेत गर्न आह्वान गर्दछु, ताकि हामी हाम्रा शहीदको विरासतलाई सम्मान गर्दै अगाड़ि बढ्न सकौँ’, बिष्टले भनेका छन्, ‘हाम्रा यी महान् स्वतन्त्रता सङ्ग्रामीको स्मृतिमा आजका दिनलाई भारतभरका गोर्खाहरूले एक गौरवान्वित जातिका रूपमा एकसाथ मिलेर ‘बलिदान दिवस’-का रूपमा पालन गर्दछन्।’

उल्लेखनीय छ, मेजर दुर्गा मल्लको जन्म १ जुलाई १९१३ मा हाल उत्तराखण्डको देहरादुन जिल्लाअन्तर्गत पर्ने डोइवाला गाउँमा भएको थियो। इण्डियन नेशनल आर्मीको गठनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै धेरै युवालाई आईएनएमा भर्ती हुन प्रेरित गरेका थिए।

आईएनएमा मेजर मल्ललाई गोप्य सूचनाहरू एकत्रित गर्ने दा३यित्व दिइएको थियो। नेताजी स्वयंले उनलाई मेजरको पदमा पदोन्नति गरेका थिए।

यसैबिच मणिपुरको उखरुलमा शत्रु शिविरभित्र जासुसी अभियानका बेलामा उनलाई २७ मार्च १९४४-का दिन ब्रिटिश सैनिकले पक्राउ गरेको थियो भने २५ अगस्ट १९४४-का दिन ब्रिटिश शासनले मेजर दुर्गा मल्ललाई फाँसीमा झुण्ड्यायो। त्यसबेला उनको उमेर केवल ३१ वर्ष थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here