नयाँ समीकरणले पहाडका शिक्षित जमातका लागि राजनीतिक मञ्च तयार गर्नेछः अनित

0
920

दार्जीलिङ, ३० अगस्तः भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्द्ध सैनिक सङ्गठनले अनित थापाको नयाँ समीकरणलाई समर्थन जनाएको घोषणा गरेको छ।

यसै घोषणा गर्नका लागि सङ्गठनले स्थानीय एक होटलमा अनित थापाको उपस्थितिमा एक बैठक गरेको थियो, जुन सभालाई सम्बोधन गर्दै थापा भने, “पहाडको राजनीतिदेखि शिक्षित जमात टाढ़ा गइरहेको छ। तर, नयाँ समीकरणले पहाडका शिक्षित जमातका लागि राजनीतिक मञ्च तयार गर्नेछ। २०१७-मा जल्दै गरेको पहाड़लाई जल्नदेखि बचाउन नै म निस्केको थिएँ। आज मेरो यात्रा सफल भएको म ठान्छु। विध्वंशको राजनीति खत्तम भएको छ। यो नयाँ राजनीतिक अभियान अझ जारी राख्नपर्छ।“

उनले यो अभियानमा भूतपूर्व सैनिकहरूका साथ आफ्ना लागि मात्र नभएर तर पहाडका लागि महत्त्वपूर्ण रहेको बताए।

थापाले थपे, “तपाईंहरूले देशका लागि लड्नु भयो, गोर्खाल्याण्डका लागि लड्नु भयो। गोर्खाल्याण्डका लागि तपाईं अनि मैले लड़ेको हामी सचेत नभएर रहेछ। हामीले लट्ठी खाएको, रगत बगाएको व्यर्थ थिएछ। आन्दोलन गरेर हामीले पाउनभन्दा बेसी गुमाउन पऱ्यो।”

गोर्खाल्याण्ड हामीलाई चाहिन्छ, तर उग्र आन्दोलन गरेर होइन भन्दै उनले भूतपूर्व सैनिक सङ्गठनको समर्थनलाई स्वागत जनाएको बताए। अनित थापाले थप भने, “अब हामी एकजुट भएर काम गरौँ। हाम्रो पहाडलाई राम्रो पहाड बनाउनपर्छ। अब पहाडलाई बिगार्न दिइने छैन।“

उनका अनुसार पहाड़मा यदि सैनिक सङ्गठनले परिवर्तन चाहन्छ भने सक्रिय राजनीतिमा आउनु पर्छ।

भारतीय गोर्खाका समस्याका समाधान र पहाडका समस्या समाधानका रूपरेखा अलग अलग राखेर अबको नयाँ समीकरणले काम गर्ने पनि थापाले दोहोऱ्याए।

“नयाँ समीकरणले कुनै नेतालाई अब राजा बनाउने छैन। नयाँ समीकरणले सोचको परिवर्तन चाहन्छ। हाम्रो अवधारणा छ, सोच बद्लिए कर्म बद्लिन्छ, कर्म बद्लिए पहाड़ बद्लिन्छ। यो सोचको परिवर्तनको अभियानमा भूतपूर्व सैनिक सङ्गठनलाई स्वागत गर्छु”, अनितले थपे, “पहाड़को राजनीतिदेखि शिक्षित जमात टाढ़ा जाँदैछ। तर, नयाँ समीकरणले पहाडका शिक्षित जमातका लागि राजनीतिक मञ्च तयार गर्नेछ।“

यसरी नै भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्द्ध सैनिक सङ्गठनका अध्यक्ष सेवानिवृत्त कर्नल केशव राईले उनीहरूलाई निःस्वार्थ अनि पहाड़को हित चाहने नेतृत्व चाहिएको बताए।

यस्तो नेतृत्व अनित थापामा पाएको जनाउँदै उनले विगतको चुनाउको समय पनि उनको नेतृत्वलाई नै सहयोग गरेको बताए।

“अब उनले शुरू गर्न लागेको नयाँ समीकरणलाई भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्द्ध सैनिक सङ्गठनको पूर्ण समर्थन छ”, राईले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here