दार्जिलिङ, ३१ अगस्तः अजय एड्वर्डलाई ल्याउन सिलगढ़ी जाने गाड़ीको सङ्ख्या आजका दिनसम्म ४०० पुगिसकेको दावी गरिएको छ।
यसैले आगामी ५ सेप्टेम्बरका दिन अजय एड्वर्डलाई ल्याउन जानेहरूका सङ्ख्या अझै बढ्ने उनका समर्थकहरूले बताएका छन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट राजीनामा दिने अजय एड्वर्ड आउँदो ५ सेप्टेम्बरका दिन दिल्लीबाट दार्जिलिङ फर्कनेछन्, जसलाई दार्जिलिङसम्म ल्याउनका लागि अजयका समर्थकहरू ५ सेप्टेम्बरका दिन बाघडुग्रा हवाइअड्डा जाने भएका छन्।
आजै गोरामुमो दार्जिलिङ टाउन कमिटीका महासचिव पदसँगै प्राथमिक सदस्यबाट पनि राजीनामा दिएका गोपाल परियारले भने, “आजका दिनसम्म अजय एड्वर्डलाई ल्याउनका लागि सिलगढ़ी जाने गाड़ीको सङ्ख्या ४०० पुगिसकेका छन्। यसैले त्यस दिन अझै बेसी हुनसक्छ।“
गोरामुमोका धेरै कार्यकर्ताहरूले अजय एड्वर्डलाई गोरामुमोबाट हटाउनका लागि ठूलो षड्यन्त्र भएको आरोप लगाउँदै त्यसको खुलासा पनि आउने दिनमा गर्ने परियारको भनाइ छ।
आज गोरामुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्री, महासचिव गोपाल परियार, प्रवक्ता उदीप मोक्तानका साथै कार्यकारी समितिका मोठ ३२ जना पदाधिकारीले नै राजीनामा दिएका रोबर्ट छेत्रीले बताए।
उनले भने, “गोरामुमो दार्जीलिङ टाउन कमिटीमा ३२ जना कार्यकारी सदस्य थिए अनि आज यी ३२ जनाले नै पार्टीबाट राजीनामा दिएका हुन्।
यसैगरी गोपाल परियारले भने, “गोरामुमोलाई आजका स्थितिसम्म पुऱ्याउन अजय एड्वर्डको ठूलो योगदान छ। एड्वर्डकै कारण धेरै युवा गोरामुमोमा सामेल भएका थिए। तर, अब गोरामुमोको भविष्य कता जाने हो, त्यो आगामी दिनले नै स्पष्ट पार्नेछ।“
उनले थपे, “अजय एड्वर्ड गोरामुमो अध्यक्ष मन घिसिङका सानैदेखिको साथी हो। उनीहरूमाझको सम्बन्धमा कहिले पनि तीतोपन आउने छैन भन्ने लागेको थियो। तर, अजय एड्वर्डजस्ता समाजसेवी, पार्टीका भक्तमाथि यति ठूलो षड्यन्त्र हुन्छ भने पार्टीका अन्य कार्यकर्ताहरूले गोरामुमोमा कसरी सुरक्षाको अनुभव गर्न सक्छन्? यसै असुरक्षाको कारण नै हामीले गोरामुमोबाट राजीनामा दिएका हौँ। अजय एड्वर्डले गोरामुमोलाई आजका स्थितिमा ल्याउन के गरेनन्, समाज सेवामा कुनै कसर बाँकी राखेनन्। कतिपय समय उनले गतिलै चुनौतीहरूका पनि सामना गरेका छन्। यति मात्रै होइन, २००७-मा उनले दार्जिलिङ नै छोड़ेर बाहिर बस्नपरेको कसैले भुलेका छैनन्। यी सम्पूर्ण समस्या उनले आफ्ना परम मित्र मन घिसिङका लागि सहेका थिए। तर आज उनीमाथि ठूलो षड्यन्त्र भयो। यसलाई गोरामुमोका प्रत्येक सदस्यले गम्भीर बनेर चिन्तन मनन गर्नपर्छ।“
यसका साथै उनले आउँदा दिनमा अझै गोरामुमो छोड्ने अनि अजय एड्वर्डलाई समर्थन जनाउनेहरूका सङ्ख्यामा व्यापक वृद्धि हुने पनि बताएका छन्।