माग पूरा नभए एकीकृत कर्मचारी सङ्गठनले आन्दोलन गर्ने

0
1032

दार्जिलिङ, सेप्टेम्बर जीटीएमा कार्यरत कर्मचारीहरूका सङ्गठन एकीकृत कर्मचारी सङ्गठनले अब स्थायीकरणका लागि सडकमै ओर्लेर आन्दोलन गर्ने चेताउनी दिएको छ।

आफ्ना मागहरू पूरा गर्नका लागि सङ्गठनले जीटीए प्रशासनलाई १५ सेप्टेम्बरसम्मको समय पनि दिएको छ। यदि १५ सेप्टेम्बरसम्म पनि आफ्ना मागहरू पूरा नभए सडकमै ओर्लेर आन्दोलन चर्काउने सङ्गठनले चेताउनी दिएको छ।

वर्षौंदेखि अस्थायी रूपमा कार्यरत उनीहरूले घिसिङलाई साथ दिँदा न त तत्कालीन दागोपापमा स्थायी हुनसके, न त विमल र विनय-अनिततिर लाग्दा जीटीएमै स्थायी भए। तृणमूल कङ्ग्रेससँग मिल्दा पनि उनीहरू स्थायी हुनसकेनन्। यसैले यी कर्मचारीहरूले सडकमै ओर्लेर आन्दोलन गर्ने सोच बनाएका हुन्।

यस विषयमा सङ्गठनले जीटीएका मुख्य सचिव एवं एड्मिनिस्ट्रेटरसमक्ष एक ज्ञापन पनि चढ़ाएको छ।

सङ्गठनका प्रवक्ता शेखर थापाले बताएअनुसार सङ्गठनले ८ बुँदे माग पत्र जीटीए प्रशासनसमक्ष चढ़ाएको छ।

“दार्जिलिङ गोर्खा पार्वत्य परिषद्को स्थापना भएदेखि यता नै यहाँ कार्यरत कर्मचारीहरूले स्थायीकरणको माग गर्दै आइरहेका छन्। यस विषय लिएर धेरैपल्ट आन्दोलन पनि गरिएको हो। आमरण अनशनसम्म बसिएको थियो”, उनले थपे “दागोपाप २०१२-देखि जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-मा परिवर्तन भएर सञ्चालन भइरहेको छ। तर सुवास घिसिङको समयदेखि गरिएको स्थायीकरणको माग आजसम्म पनि पूरा भएको छैन। यसैले आगामी १५ सेप्टेम्बरसम्म जीटीए प्रशासनलाई स्थायीकरणसँगै अन्य मागका लागि अल्टिमेटम दिइएको हो।“

यदि १५ सेप्टेम्बरसम्म पनि एकीकृत कर्मचारी सङ्गठनका मागमाथि ठोस पहल नभए जीटीएका कर्मचारीहरू सडकमा ओर्लिन र जीटीएका कार्यालयहरू घेराउ गर्न बाध्य हुने थापाले बताए।

उनले थपे, “दार्जिलिङ गोर्खा पार्वत्य परिषद्को स्थापना हुँदा तत्कालीन दागोगाप अध्यक्ष सुवास घिसिङले दागोपापमा कार्यरत कर्मचारीहरूले नमरूञ्जेल काम गर्न सक्छन् भनेका थिए। यसैले यी कर्मचारीहरूका स्थायीकरणको माग पूरा नभए जीटीएमा कार्यरत कर्मचारीहरूले जीटीएमा ६० वर्षका उमेरसम्म मात्र होइन, नमरुञ्जेलसम्म काम गर्न पाउनुपर्छ।“

थापाले अझ भने, “यति मात्रै होइन, जीटीएमा कार्यरत कर्मचारीहरूले अवकाश ग्रहणपछि आर्थिक राशि हाल केवल ३ लाख रुपियाँ पाइरहेका छन्। यति राशिले अहिलेका समयमा केही काम हुन सक्तैन। यसैले अब जीटीएका कर्मचारीहरूलाई अवकाश ग्रहणको सुविधास्वरूप एकमुष्ठ १५ लाख रुपियाँ बराबरको राशि प्रदान गरिनुपर्छ। दागोपापदेखि जीटीएसम्म काम गरी आफ्नो उमेर जनताको सेवामा नै खर्चिने कर्मचारीहरूका लागि सरकार र जीटीए प्रशासनले यति सुविधा प्रदान गर्नैपर्छ।”

उल्लेखनीय छ, विगतमा दागोपाप र वर्तमानमा जीटीएमा कार्यरत कर्मचारीहरूले क्षेत्रीय व्यवस्था जसको हातमा गएको थियो, ती पार्टी वा नेताहरूलाई नै साथ र सहयोग दिँदै आइरहेका थिए। तरै पनि केही हुन नसक्दा यी कर्मचारीहरूले राज्यको तृणमूल कङ्ग्रेसकै हात समातेर आफ्नो मागलाई पार लगाउने प्रयास गरिरहेका छन्।

यति गर्दा पनि केही नभएपछि फेरि उनीहरूसित आन्दोलनबाहेक अन्य कुनै विकल्प नरहेको उनीहरूको यस निर्णयबाट स्पष्ट भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here