दार्जिलिङ, ३ सेप्टेम्बरः जिमखाना क्लबको स्केटिङ हलबाट अनित थापाहरूले नयाँ पार्टीको घोषणा गर्ने भएपछि विनय तामाङले आपत्ति जनाएको छ।
विनयका अनुसार जिमखाना क्लबमा कुनै राजनीतिक कार्यक्रम नगर्ने अघिबाटै निर्णय गरिएको छ।
२०१७-को आन्दोलनपछि २०१८ मा दार्जिलिङ जेष्ठ नागरिकहरूले स्थानीय चौरस्ता, गोर्खा रङ्गमञ्च भवन र जिमखाना क्लबलाई राजनीतिक कार्यक्रम र भेलाबाट अलग राख्ने प्रार्थना गरेका कारण त्यसवर्ष आजसम्म यी स्थानहरूमा राजनीतिक कार्यक्रम नभएको उनले बताएका छन्।
यसैले अनित थापाहरूले जिमखाना क्लबको स्केटिङ हलबाट नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रममा विनयले आपत्ति जनाएका हुन्।
उनी स्वयं पनि यस क्लबका एकजना सदस्य हुन्।
‘म कुनै या कसै राजनीतिक व्यक्तिविशेषहरूका विरोधमा छुइनँ। मेरो पनि आफ्नै राजनीतिक पृष्ठभूमि छ। तर २०१८ मा जुन एक जनसम्मानको आधार स्थापित गरिएको थियो। आज गएर दुविधाजनक एवं अपमानित अवस्थामा आइपुगेको छ; कारण हिजो २ सेप्टेम्बरका दिन केशवराज पोख्रेलले पत्रकार सम्मेलन गरी पहाडका राजनीतिक व्यक्तित्वहरूका उपस्थितिमा आउँदो ९ सेप्टेम्बरका दिन जिमखाना क्लबको स्केटिङ हलमा एक राजनीतिक कार्यक्रम आयोजन गर्ने बयान दिएका थिए’, विनयले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘यदि केशवराज पोख्रेलको उक्त बयानमा सत्यता छ भने म जिमखाना क्लबको सदस्यका नाताले घोर विरोध जनाउँदछु। साथै जिमखाना क्लबको कर्तृपक्षले अनुमति प्रदान गरेकोमा आपत्ति जाहेर गर्दछु।’
यति मात्र होइन, आफ्नो विरोध र आपत्तिलाई जिमखाना क्लबको कर्तृपक्षले विचार गरियोस् भन्ने विनयले अनुरोध पनि गरेका छन्। साथै यदि अनित थापाहरूले दार्जिलिङ पहाडलाई माया गर्छन् भने उक्त कार्यक्रमलाई जिमखाना क्लबबाट अन्यत्रै सार्नुपर्ने अनुरोध पनि तामाङको छ।
‘हामीले दार्जिलिङ जिमखाना क्लबलाई राजनीतिक अखड़ाबाट बचाउन सकौँ’, विनय तामाङले भनेका छन्।
यतिमात्र होइन, उनले अनित थापाहरूलाई नयाँ पार्टीका लागि शुभकामना दिएका छन्।