बिष्टको पुतलामा जुत्ताको माला लगाएर घुमाउनेहरूविरुद्ध प्राथमिकी दर्ता

0
1078

दार्जिलिङ, ७ सेप्टेम्बरः सांसद राजु बिष्टको पुतलामा जुत्ताको माला लगाइदिएर दार्जिलिङ शहर घुमाउने भारती गुट गोर्खा लीगका नेतृत्वहरूविरुद्ध भारतीय जनता पार्टी (भाजपा)-ले दार्जिलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको छ।

भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले यसबारे जानकारी गराएका छन्।

उनका अनुसार भारती गुट गोर्खा लीगका महासचिव एसपी शर्मा र उपाध्यक्ष विक्रमादि राईविरुद्ध प्राथमिकी दर्ता गरिएको छ।

उल्लेखनीय छ, कुर्सीमा बसाएको राजु बिष्टको पुतलामा जुत्ता-चप्पलको माला लगाएर हिजो भारती गुट गोर्खा लीगले दार्जिलिङ शहर घुमाएको थियो।

देवानले यस प्रकारका कार्यलाई अत्यन्त निन्दनीय र अशोभनीय भन्दै भाजपाले यस्ता कार्यको घोर भर्त्सना गर्ने पनि बताए।

उनका अनुसार स्थायी राजनीतिक समाधानका लागि त्रिपक्षीय वार्ताको ढोका खोलिएको बेला जसले सांसद राजु बिष्टको पुतलामा जुत्ता-चप्पलको माला लगाएर दार्जिलिङ शहर घुमाए, उनीहरूले त्रिपक्षीय वार्ता नचाहेको जस्तो बुझिन्छ। किनभने त्रिपक्षीय वार्ताको ढोका सांसद बिष्टकै पहलमै खोलिएको कल्याण देवानको भनाइ छ।

“सांसदको यसरी अपमान गर्नु भनेको त्रिपक्षीय वार्ताको विरोध गरेको हो भन्ने हामी बुझ्छौँ। जनताले बुझ्छन्। हाम्रो सोधनी छ- के तपाईंहरू त्रिपक्षीय वार्ताको विरोध गर्न चाहनु हुन्छ? के तपाईंहरू त्रिपक्षीय वार्ता भएको चाहनु हुन्न?”, उनले प्रश्न गरे, “भोलिका दिनमा त्रिपक्षीय वार्ताको पत्र आउँदा के जनताले तपाईंहरूलाई जुत्ताको माला लगाएर शहर घुमाउनु?”

देवानले त्रिपक्षीय वार्ता अवश्यै हुने र केही दिनभित्रै पत्र पनि आउने ठोकुवा गरेका छन्।

“सरकारी प्रक्रिया हो। एकजना व्यक्तिको लिँडे ढिपीमा भारत सरकार झुक्ने होइन”, उनले थपे, “हो वार्ताको पत्र आएको छैन। तर आउनेछ। यो भारत सरकारको प्रतिबद्धता हो।”

यति मात्र होइन गोर्खा लीग भारती गुटले बङ्गाल सरकारकै तर्फबाट कार्य गरिरहेको पनि कल्याण देवानले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here