भागोप्रमोको केन्द्रीय कमिटी गठन, अमर लामा बने महासचिव

0
917

दार्जिलिङ, १३ सेप्टेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-का महासचिव अमर लामा बनेका छन्।

आज एक सभा बसी भागोप्रमोको केन्द्रीय समिति गठन गरिएको छ। आज गठन गरिएको केन्द्रीय कमिटीमा महासचिव अमर लामाबाहेक उपाध्यक्ष पदमा क्रमैले सतीश पोख्रेल, डीके प्रधान, केशव राई र रुदेन लेप्चा, सहसचिव पदमा सञ्चवीर सुब्बा र ज्योति कुमार राई तथा प्रवक्ता दुर्गा खरेल र केशवराज पोख्रेललाई मनोनीत गरिएको छ।

यसैबिच, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चाँड़ै रिम्बिक-लोधोमा समष्टिबाट धारावाहिक जनसभा शुरू गर्ने घोषणा गरेको छ। यो जनसभा आउँदो १५ सेप्टेम्बरका दिन रिम्बिक खेल मैदानमा हुनेछ।

पार्टीले आज केन्द्रीय समितिको गठनसँगै जीटीए क्षेत्रका ४५ वटै समष्टिमा धारावाहिक रूपले जनसभा गर्ने निर्णय लिएको महासचिव अमर लामाले जानकारी गराए।

उल्लेखनीय छ, पछिल्लो ९ सेप्टेम्बरका दिन भागोप्रमोको घोषणासँगै पार्टी अध्यक्षका रूपमा अनित थापालाई मनोनीत गरिएको थियो।

आज स्थानीय एक होटलमा सम्पन्न बैठकमा केन्द्रीय समितिसँगै नारी र युवा एकाइ पनि गठन गरिएको जानकारी पाइएको छ। यद्यपि, पार्टीले नारी, युवा एकाइको नामबाट ‘मोर्चा’ शब्द हटाएर ‘शक्ति’ शब्द राखेको छ। अर्थात नारी एकाइको नाम भारतीय गोर्खा नारी शक्ति र युवा एकाइको नाम भारतीय गोर्खा युवा शक्ति राखेको छ।

४ घण्टाभन्दा अधिक समयसम्म चलेको यस बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै पार्टी महासचिव अमर लामाले भने, “आज विशेष गरी पार्टीको केन्द्रीय समिति गठन गर्ने उद्देश्यले नै पार्टीको बैठक भएको थियो, जसमा पार्टीको संविधान पनि ग्रहण गरिएको छ।”

यद्यपि, संविधानमा कतिपय थप्नुपर्ने वा हटाउनुपर्ने विषयहरूका लागि पनि ठाउँ खुला राखिएको उनले बताएका छन्।

यसबाहेक विशेष साहित्य क्षेत्रबाट पार्टीमा सामेल भएका व्यक्ति विशेषहरूलाई भने पार्टी मुख्य सल्लाहकारका रूपमा राखेको पनि पार्टी सूत्रले बताएको छ।

यसैबिच नारी शक्तिका अध्यक्ष छिरिङ लामा दाहाल र सचिव प्रतिभा कुमाइ तथा युवा शक्तिका अध्यक्ष अमृत योञ्जन मनोनीत गरिएको पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here