हाम्रो योजना चुनाउमुखी होइन, जनमुखी छः गोले

0
948
(सिक्किम गरीब आवास योजनामार्फत बनिएको घरको उद्घाटन गर्दै मुख्यमन्त्री पीएस गोले।)

गान्तोक, १३ सेप्टेम्बरः मुख्यमन्त्री पीएस गोलेले आज (सोमबार) एसकेएम सरकारले शुरु गरेको सिक्किम गरीब आवास योजनामार्फत निर्माण गरिएको पहिलो घरको उद्घाटन गरे।

पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रको नाण्डोकनिवासी आथोप लेप्चाको घर उद्घाटन गरी उनले लाभार्थीलाई सुम्पिए।

८ अक्टोबर २०२०-का दिन मुख्यमन्त्रीले सम्मान भवनबाट सिक्किम गरीब आवास योजनाको शुभारम्भ गरेका थिए भने करिब ११ महिनाको अन्तरालमा यस घरको निर्माणकार्य पूरा भएपछि आज लाभार्थीलाई सुम्पिएको हो।

राज्य ग्राम विकास विभागले आयोजन गरेको उद्घाटन कार्यक्रममा क्षेत्र विधायक तथा शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, पर्यटन मन्त्री बीएस पन्त, पीएचई विभागका मन्त्री भीम हाङ सुब्बा, विधायकगण, विभागीय सचिव तथा अधिकारीवर्ग, नगरनिगमका पार्षद्, पञ्चायत तथा स्थानीय नागरिकहरू उपस्थित थिए।

सिक्किम गरीब आवास योजना एसकेएम सरकारले शुरू गरेको ध्वजवाहक योजना यो। योजनाको पहिलो चरणमा सरकारले ३०५० घर वितरण गरेको छ, जसको सम्पूर्ण निर्माणकार्य मार्च २०२२ सम्ममा पूरा गर्ने लक्ष्य छ।

ग्राम विकास विभागअन्तर्गतको यस योजनामा आवण्टन गरिएका मध्येका ४४६ घरको निर्माणकार्य लगभग पूरा भएको छ।

यसरी नै १२३१ वटा घरको स्लेब लगाएर बारबेरको काम चल्दैछ भने अन्य घरको निर्माण कार्य शुरू भएको छ।

जानकारीका अनुसार २१२ वटा घरको भने अहिलेसम्म निर्माणकार्य शुरू हुनसकेको छैन।

यस योजनामा १७.५१ लाख रुपियाँको लागतमा ७६७ वर्ग फुटमा चार कोठाको एकतले पक्का घर निर्माण गरिन्छ। यसमा दुईवटा सिङ्गल र एउटा डबल बेड, दुईवटा स्टिलको दराज, एउटा सोफासेट, एउटा ३२ इञ्चको एलईडी टिभी, सेन्टर टेबल र अन्य सामाग्रीको प्रावधन पनि छ।

विभागले निर्माण गरेको यस घरलाई लाभार्थीले सकेको खण्डमा भविष्यमा बढ़ाए लैजान सक्ने प्रावधन पनि राखिएको छ।

यस अवसरमा बोल्दै एसकेएम सरकारले सरकारी योजनालाई लिएर कहिलै पनि भोटको राजनीति नगर्ने मुख्यमन्त्री पीएस गोलेले बताए।

सिक्किम गरीब आवाश योजना शुरू गरेको ११ महिनाभित्रमा लाभार्थीको घर निर्माणकार्य पूरा गरेर सरकारले जनतालाई दिएको वचनप्रतिको प्रतिबद्धता दर्शाएको उनले बताए।

पूर्व सरकारले सरकारी योजनामाथि भोटको राजनीति गरेकै कारण पूर्व सरकारको मुख्यमन्त्री आवास योजनाका घरहरूका निर्माणकार्य अहिलेसम्म पूरा नभएको गोलेको भनाइ थियो।

मुख्यमन्त्री गोलेले भने, “पहिलाको सरकारमा आफ्नो स्वार्थपूर्ति गर्न चुनाउ छेक सरकारी योजनाका टोकन वितरण गर्ने चलन थियो। २०१४ र २०१९-को चुनाउ अघि एसडीएफ सरकारले वितरण गरेका  टोकन अहिले पनि जनताको सिरानीमुनि भेटिन्छ। पूर्व सरकारमा  पाएका टोकन छातीमा राखेर जनता चिच्याइरहेका छन्। जनतालाई टोकन मात्र दिएर पूर्व सरकारले योजनाका लागि अनुमोदन गरेको धनराशि खाइसकेको छ, यसको खोजी जनताले गर्नुपर्छ।”

एसकेएम सरकार टोकन बाँड्ने सरकार नभएर जनतालाई दिएका योजना र वचन पूरा गर्ने सरकार हो भन्ने मुख्यमन्त्रीले ठोकुवा गरे।

उनले भने, “हाम्रा योजना चुनाउमुखी नभएर जनमुखी छन्। हामी अर्को चुनाउका लागि होइन, तर अहिले पाएको जनमतलाई शिरमा राखेर काम गर्छौं। हामीले पाँच वर्ष जनताको सेवा गर्ने मौका पाएका छौं सेवा गर्छौं र अर्को चुनाउमा जनताले हामीलाई दिएको मौका रेन्यू नगरे खुशीसाथ स्वीकार गरी विदा लिन्छौँ।”

(सिक्किम गरीब आवास योजनामार्फत बनिएको पक्का घर।)

अर्कोतर्फ राज्यका शहरी गरीब परिवारको घर निर्माणका लागि पनि पछिल्लो १५ अगस्तदेखि अर्बन गरीब आवास योजना सरकारले शुभारम्भ गरेको मुख्यमन्त्रीले जानकारी गराए।

उनले बताएअनुसार अर्बन गरीब आवास योजनाअन्तर्गत शहरमा जमिन भएका गरीब परिवारको पनि सरकारले नै घर निर्माण गरिदिनेछ। सिक्किम गरिब आवास योजनाअन्तर्गत पहिलो चरणमा आवण्टन गरिएका घरको निर्माण कार्य पूरा गरेपछि अर्को वर्ष नयाँ लाभार्थीलाई योजना वितरण गरिने बताए।

यसैगरी राज्य सरकारले यो दशैँ अघि नै हाउस अपग्रेडेसन योजना पनि वितरण गर्ने जानकारी दिए। यस योजनाअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ४०० परिवारलाई योजनाको लाभ दिने र लाभार्थीले प्राप्त गरेको योजना सम्बन्धित बीडीओ कार्यालयबाट लिनसक्ने बताए।

हाउस अपग्रेडेसन योजनाअन्तर्गत सरकारले घर मरम्मती गर्नका लागि प्रतिपरिवार २०,००० रुपियाँ प्रदान गर्दछ। यसरी नै प्रत्येक निर्वाचन क्षेत्रमा १०० परिवारलाई जीसीआई च्यादर पनि वितरण गर्ने योजना रहेको बताउँदै तथापि जनताको घर सरकारले नै निर्माण गर्ने योजना लिएकाले च्यादर वितरण कार्यलाई भने बन्द गर्ने योजना रहेको पनि जानकारी गराए।

आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्रीले कोविड महामारीको चपेटमा परेर पनि सरकारले स्वास्थ्य, शिक्षा तथा कृषि विकासका क्षेत्रमा धेरै काम गर्न सफल भएको बताए। सरकार गठनको छोटो अवधिमा गेजिङ, नाम्ची र एसटीएनएम अस्पतालमा डायलसिस सुविधा शुरू गर्न सफल भएको बताए।

एसटीएनएम अस्पतालको भवन पूर्व सरकारले निर्माण गरेको स्वीकार गर्दै तथापि यसको बिल वर्तमान सरकारले भुक्तान गर्नु परिरहेको दावी गरे।

उनले भने, “हामी प्रत्येक बजेटमा पैसा छुट्याएर एसटीएनएम निर्माण गरेको बिल तिर्दैछौँ। पूर्व सरकारले यो भवन बनाएको हो, तर अधकल्चोमा उद्घाटन गरेको थियो। यसभित्र चाहिने मशिनेरी हामीले लगायौँ। ६०० भन्दा बढ़ी मेडिकल स्टाफ नियुक्त गरेका छौँ।”

एसकेएमले सरकार स्तरबाट मात्र होइन तर पार्टी स्तरबाट पनि स्वास्थ्य सुविधाका क्षेत्रमा काम गरिरहेको बताए।

यस अवसरमा उनले पाकिम र सोरेङ जिल्ला गठण प्रक्रिया पनि चाँडै पूरा हुने जानकारी दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here