तराई-डुवर्सका चियाश्रमिकहरूलाई २० प्रतिशत बोनस, भोलि पहाडका लागि बैठक

0
949

दार्जिलिङ, १४ सेप्टेम्बरः तराई डुवर्सका चियाश्रमिकहरूले यसपालि २० प्रतिशतकै दरले बोनस पाउने भएका छन्।

आज १४ सेप्टेम्बरका दिन चियाबगान मालिक सङ्गठन सीसीपीए (कन्सल्टेटिभ कमिटी अव् प्लान्टेशन एसोसिएशन) र विभिन्न श्रमिक सङ्गठहरूमाझ भएको भर्चुअल बैठकमा नै मालिकपक्ष २० प्रतिशतको दरले बोनस दिन राजी बनेको गोजमुमोको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका सचिव मिलन प्रधानले जानकारी गराएका छन्।

तराई र डुवर्समा १६० भन्दा अधिक चियाबगान छन् भने दार्जिलिङ पहाडमा ८७ वटा चियाबगान छन्।

आज १४ सेप्टेम्बरका दिन तराई र डुवर्सका १६० भन्दा अधिक चियाबगानका श्रमिकहरूका बोनसबारे छलफल भएको छ भने भोलि १५ सेप्टेम्बरका दिन दार्जिलिङ पहाडका चियाश्रमिकहरूका पनि बोनस दरमाथि अन्तिम मोहर लाग्ने अधिकांश चियाश्रमिकहरूले आशा गरिरहेका छन्।

यति मात्रै होइन, तराई र डुवर्सका चियाश्रमिकहरूले २० प्रतिशतको दरले बोनस पाउने पक्कापक्की भएपछि दार्जिलिङ पहाडका श्रमिकहरूले पनि यसै दरअनुसार बोनस पाउने आशा गरिरहेका छन्।

दार्जिलिङ पहाडका सबै श्रमिक सङ्गठनले यसपालि चियाश्रमिकहरूलाई २० प्रतिशतभन्दा एक पैसा पनि कम्ती दरको बोनस दिन नहुने माग गर्दै आइरहेका छन्।

यसका साथै यी श्रमिक सङ्गठनहरूले चियाश्रमिकहरूलाई एकै किस्तामा बोनस दिने पनि माग उठाउँदै आइरहेका छन्। किनभने, गत वर्ष कोरोना महामारीबिच चियाश्रमिकहरूलाई दुई किस्ता गरी बोनस भुक्तान गरिएको थियो, जसमध्ये कतिपय चियाबगानका श्रमिकहरूले दोस्रो किस्ताको ५ प्रतिशत बोनस अझैसम्म नपाएको गुनासो गरिरहेका छन्।

यसैले यसपालि एकै किस्तामा २० प्रतिशतको दरले बोनस दिनुपर्ने श्रमिक सङ्गठनहरूको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here