दार्जिलिङ, १५ सेप्टेम्बरः अजय एड्वर्डले दार्जिलिङ पहाड़मा पञ्चायत चुनाउ हुनुपर्ने माग गरेका छन्।
उनले आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत् पहाड़मा पञ्चायती व्यवस्था हुनुपर्ने माग गरेका हुन्।
उल्लेखनीय छ, दार्जिलिङ पहाड़मा पञ्चायत चुनाउ नभएको करिब दुई दशक भइसकेको छ। विभिन्न राजनीतिक दल र सामाजिक सङ्गठनहरूले लगातार रूपमा पञ्चायत चुनाउको माग गर्दै आइरहे तापनि अहिलेसम्म ग्रामीण क्षेत्रका जनता स्थानीय निकायका लागि आफ्ना जनप्रतिनिधि चयन गर्ने अधिकारदेखि वञ्चित हुँदै आइरहेका छन्, जसका कारण उनीहरूले धेरै समस्या पनि भोगिरहेका छन्।
अजय एड्वर्डले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्-‘जब म हाम्रा मानिसहरूका अवस्था देख्छु; मलाई उनीहरूका लागि निरन्तर कार्य गर्न ऊर्जा आउँछ। र म झनै प्रेरित हुन्छु। मैले पटक पटक भनिरहेको छु- म राजनीतिमा छु। किनभने राजनीति एउटा यस्तो मञ्च हो, जहाँबाट जनसाधारणको सेवा गर्ने अवसर पाइन्छ।’
उनले थप लेखेका छन्-‘जबसम्म हाम्रो समाजका कमजोर वर्ग बलियो हुँदैनन्, तबसम्म समाज स्वस्थ र प्रगतिशील हुँदैन। पछिल्लो केही वर्षदेखि म पहाड़का दुर्गम क्षेत्रको भ्रमणमा छु। ती क्षेत्रहरूका भ्रमणमा मैले राजनीतिक दलहरूले गरेको वाचा केवल वाचामा नै सीमित भएको बोध गरेको छु। ग्रामीण वर्गका पीड़ा देख्दा अब गाउँ घरमा पञ्चायतीकरण पुनः स्थापित हुनुपर्छ भन्ने मेरो अड़ान रहेको छ। अब हरेक व्यक्तिलाई एउटा आवाजको खाँचो छ। त्यस आवाजलाई सुन्न आवश्यक छ।‘