सिलगढ़ी, १७ सेप्टेम्बरः लाल सिंह चढ्ढा मार्फत बलिउडमा डेब्यु गरेकी सोनाम रिका तामाङ भन्छिन्- सानैदेखि जुन सपना देखिरहेकी थिएँ, त्यो पूरा भइरहेको महसुस गरिरहेकी छु।
अमिर खान र करिना कपुर मुख्य भूमिकामा रहेको यस फिल्ममा सोनामले सानो भूमिका पाएकी छन्। उनी यस फिल्ममा चिनियाँ केटीको भूमिकामा देखिनेछिन्। फिल्मको छायाङ्कन भर्खरै सकिएको छ।
९ अक्टोबर १९९८ मा आहले-एक गोरुबथानमा जन्मेकी सोनाम ‘हुने बिरुवाको चिल्लो पात’ हुन्। सानैदेखि अभिनय र मोडलिङमा रुचि राखेकी उनले ‘बलिउड’-को सपना पनि आफूभित्र हुर्काउँदै अघि बढ़िरहिन्।
जनसंवादसँग विशेष कुराकानीमा उनले भनिन्, “बलिउडसम्म पुग्ने सानैदेखिको सपना थियो मेरो। यो सपनालाई कहिले मर्न दिइनँ।” सपना पुग्न थालेपछि अहिले नै अत्यधिक खुशी छिन्। थप ऊर्जावान बनेकी छन्।
गोरुबथानजस्तो सानो ठाउँबाट बलिउडसम्मको यात्रा लरतरो थिएन। यो सामान्य कुरा पनि हुँदै होइन।
लाल सिंह चढ्ढा डेब्यू गर्नअघि अमेजन प्राइमको वेब सिरिज द गर्ल्समा उनी देखिएकी छन्।
यो वेब सिरिज चाँड़ै रिलिज हुने बताइएको छ।
“मेरी आमा नाटक खेल्नु हुन्थ्यो। गीत पनि गाउनु हुन्थ्यो। त्यसैले सानैदेखि मलाई उनले मलाई नृत्य र अभिनयमा लाग्न प्रेरित गरिरहिन्। उनी नै मेरी रोल मोडल हुन्”, सोनाम भन्छिन्, “अहिले म यहाँसम्म पुग्न सफल भएकी आमा-बाबाको प्रोत्साहन र सहयोगले हुँ। र भविष्यमा अभिनयको क्षेत्रमा जे जति बन्न सक्छु, त्यो पनि उनीहरूकै कारण हुनेछ।”
सोनाम मिहिनेत गर्न रुचान्छिन्। ट्यालेन्टसँगै निरन्तर मिहिनेतले बलिउडमा स्थापित हुने कुरा उनलाई राम्ररी थाह छ। सफलता पनि यसैगरी पाउने उनको ठम्याइ छ।
उनका अनुसार लाल सिंह चढ्ढामा पाएको सानो भूमिका उनका लागि ठूलो अवसर हो। यसबाट उनले धेरै अनुभव बटुलेकी छन्।
सोनाम रिका तामाङले अघिबाटै केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्