भेटघाट र विमर्श बढ़ाउँदै आरबी राई कालेबुङमा-“बङ्गालभित्रका व्यवस्था नमान्ने”

1
1097

कालेबुङ, २० सेप्टेम्बरः पछिल्ला केही दिनयता क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) अध्यक्ष आरबी राईले समाजका विभिन्न क्षेत्रसँग जड़ित व्यक्तित्वहरूसँग भेटघाट र विचार विमर्शलाई अघि बढ़ाइरहेका छन्।

यसका लागि राई आफ्नो एक टोली लिएर पहाड़, तराई अनि डुवर्सको भ्रमण गरिरहेका छन्।

विशेषगरी पछिल्लो ६ अगस्तका दिन दार्जिलिङका भाजपा घटक दलहरूले स्थायी राजनीतिक समाधानको मुद्दा विषय केन्द्रीय गृहमन्त्री अमित शाह बैठक गरेपछि र उक्त बैठकमा राईले दार्जिलिङ तराई अनि डुवर्सका राजनीतिक सचेतक, साहित्यिक अनि सामाजिक व्यक्तिवहरूसित भेटघाट र विचार विमर्शको कार्यक्रम शुरू गरेको हो।

यसैक्रममा क्रामाकपा अध्यक्ष कालेबुङ पुगेका हुन्। कालेबुङ पुगेका उनलाई स्थानीय नेतृत्वहरू क्रमैले मोहन पौडेल, भीम गुरुङ, सुधन प्रधान, शङ्कर प्रधानलगायत अन्यले स्वागत गरेका थिए।

क्रामाकपा मिडिया सेलका अनुसार कालेबुङ पुगेपछि राईले सबैभन्दा पहिला पार्टीका नेतृत्वहरूसँग साङ्गठनिक चर्चा परिचर्चाका साथै वर्तमान राजनीतिक स्थिति र आउँदो त्रिपक्षीय वार्तामाथि छलफल गरेका थिए।

यसअवधि उनले त्रिपक्षीय वार्तामा स्थायी राजनीतिक समाधान बङ्गालभित्रको व्यवस्था कदाचित नमान्ने, भारतका गोर्खाहरूका सपना र चिह्नारी गोर्खाल्याण्डको गठनले मात्र पूरा हुने अड़ान दोहोऱ्याए।

अर्कोतिर उनले जनआन्दोलन (जाप)-का अध्यक्ष ड. हर्कबहादुर छेत्री, कालेबुङ बीटी कलेजका पूर्व प्राचार्य शिक्षाविद् मनिन्द्र भुजेल, वरिष्ठ अधिवक्ता एवं एनजीसीका महासचिव प्रभाकर देवान, कालेबुङका अधिवक्ताद्वय धनपति अधिकारी र राजीव पराजुलीसँग भेटवार्ता गरी दार्जिलिङ पहाड़को वर्तमान स्थिति, स्थायी राजनीतिक समाधान र आउँदो त्रिपक्षीय वार्ताबारे चर्चा-परिचर्चा गरिएको बताइएको छ।

1 टिप्पणी

  1. श्री आर बी राई बिगतमा लोकसभा र राज्यसभा सांसद अनि माकपा पार्टीमा धेरै अनुभवी भएको भए तापनी बर्तमानमा आगामी त्रिपक्षीय वार्ता बारे आँफै अन्योलमा परेर निष्कर्षमा पुग्न नसक्दा चारैतिर कुदी हिँडेको भान हुँदैछ। नत्र त्यो स्थानमा पुगेको व्यक्तिले एउटा मन्थन सभाको आयोजना गरेर सबैलाई बोलाउनुपर्ने हो। अर्को कुरा, त्यो प्रतिनिधि टोलीको नेतृत्व कसले गर्छ त्यो पनि जरुरी र चासोको विषय हो। मने, जिम्बा र राजुले के गर्न आँटेका छन आर बी राईलाई थाहा छ के?

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here