सिक्किमको इतिहासमा २२ सेप्टेम्बर

0
982

कृष्ण खरेल

१९९३ –देखि प्रतिवर्ष २२ सेप्टेम्बरको दिनलाई धुमधामपूर्वक `गरीब उत्थान दिवस’ अथवा `गरिबी उन्मूलन दिवस’ –को रूपमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) –ले मनाउँदै आइरहेको छ। आजको चौथो दिन एसडीएफले २९औँ गरिबी उन्मूलन दिवस मनाउन लागिरहेछ। २८ वर्ष लगातार गरीब उत्थान दिवस मनाइसकेपछि आज सार्वजनिक विचार र विमर्शको क्षेत्रमा एउटा प्रश्न उठेर आएको छ –के गरीब उत्थान वा उन्मूलनजस्ता लक्ष्यआधारित दिवसहरू सधैँभरि मनाइरहनुपर्ने विषय हो? यस्ता कुराको दीर्घकालीन औचित्य रहन्छ?

राज्यस्तरीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा मनाइने दिवसहरू सामान्यतः दुई प्रकारका हुन्छन् – जस्तै अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रिय शिक्षक दिवस, राज्य स्थापना दिवस, भानुजयन्ती आदि। यस्ता जयन्तीहरू शताब्दिऔँसम्म मनाएर जाँदा पनि हुने कुरा हो। तर गरीब उत्थान दिवस कुनै जन्मजयन्ती वा निरपेक्ष दिवस होइन। २२ सेप्टेम्बर एउटा ऐतिहासिक परिघटना, परिस्थिति तथा एउटा युगीन सङ्कल्पलाई अभिव्यक्त वा इङ्गित गर्ने लक्ष्यआधारित दिवस हो। २२ सेप्टेम्बर, १९९३ सिक्किमको प्रजातन्त्र्योत्तर राजनीतिमा ऐतिहासिक उथुलपुथुलपूर्ण परिस्थितिमा जन्मिएको परिघटना हुनको साथै २२ सेप्टेम्बरले सिक्किमको राजनीतिलाई एउटा दिशा दियो, उदीयमान राजनीतिक शक्ति एसडीएफलाई एउटा सार्थकता र लक्ष्य दियो। २२ सेप्टेम्बर सिक्किमे राजनीतिको त्रासदीविरुद्ध एउटा विद्रोह हुनको साथै त्यो दुर्भाग्यबाट सिक्किमलाई निकास दिने एउटा बाटो पनि यसले देखायो। २२ सेप्टेम्बर त्यसैले सिक्किमको राजनीतिक इतिहासमा स्पष्ट रूपले अङ्कित दिशासूचक माइलस्टोन हो। यस दिनपछि सिक्किमे राजनीतिको कोर्स र बहसको मुद्दा सदाका लागि परिवर्तन भएर गयो। गरीबहरू सिक्किमको राजनीतिको केन्द्रमा आए, मुख्य भूमिकामा आए।

के छ त २२ सेप्टेम्बरको ऐतिहासिक महत्त्व?

संवैधानिक रूपमा चुनिएर पनि दिनदिनै तानाशाही, निरङ्कुश र गरीबविरोधी शोषक शक्तिहरूको सत्तामा रूपान्तरित बन्दैगएको तत्कालीन सत्ताविरुद्ध सिक्किमेली जनताको न्यायपूर्ण सङ्घर्षमाथि चर्को दमन, सामाजिक एवं साप्रदायिक विखण्डनकारी दुष्प्रचार हुनथालेपछि सिक्किम एउटा गम्भीर राजनीतिक सङ्कटमा फँस्नपुगेको थियो। जन आन्दोलनलाई नेतृत्व गर्ने नेता तथा कार्यकर्ताहरू ज्यान जोगाउन भूमिगत हुनपर्ने अवस्था आयो, जन आन्दोलनका कार्यकर्ताहरूमाथि झुटा मुद्दाहरू लगाई जेलमा कोचार्ने काम भयो, यस आन्दोलनका नेता पवन चामलिङमाथि `टाडा’ जस्तो आतङ्ककारीविरुद्ध लगाइने जघन्य कानून लगाएर पक्राउ गर्ने षड्यन्त्र गरियो। बिनाजमानत वर्षौंवर्ष जेलमा सड़ाएर आन्दोलन खत्तम पार्ने यस षड्यन्त्रलाई असफल पार्न चामलिङ अज्ञातवासमा गए। भूमिगत रहेर पनि उनले आन्दोलनलाई नेतृत्व गरिरहे। जस्तै चर्को दमनले पनि आन्दोलन रोकिएन। २२ सेप्टेम्बर, १९९३ –को दिन पवन चामलिङ सुप्रिम कोर्टबाट अग्रिम जमानत लिएर सिक्किम फर्किए। २२ सेप्टेम्बरका दिन पवन चामलिङको आगमनमा उनको स्वागतार्थ उर्लिएको विशाल जनउपस्थितिले त्यो जनविद्रोहको आभास दिइरहेको थियो।

यही ऐतिहासिक दिवसमा लाखौँ सिक्किमेली जनताबिच पवन चामलिङले एसडीएफ पार्टीको लक्ष्य सिक्किमका गरीबहरूका उत्थान अथवा सिक्किमे धरतीबाट गरिबीको समूल उन्मूलनको लक्ष्य र सङ्कल्पको घोषणा गरेका थिए। पवन चामलिङ र एसडीएफ पार्टीले सिक्किमेली जनतालाई दिएको यो पहिलो वचन थियो। गरिबीको पूर्ण विनाश नै एसडीएफ पार्टीको राजनीतिको मियो हो, मूल लक्ष्य र सङ्कल्प हो। यही नै एसडीएफ पार्टीका समस्त नीति, सिद्धान्त र कार्यक्रमहरूका मूल आधार हो।

पवन चामलिङले २२ सेप्टेम्बरको ऐतिहासिक सिक्किम आगमनको दिवसलाई सिक्किममा सैकड़ौँ वर्षदेखि जरा गाड़ेर बसेको गरिबी, दरिद्रता र पछौटेपनलाई जरैबाट उखेलेर `नयाँ सिक्किम सुखी सिक्किम’ बनाउने अजङ्गको ठूलो सङ्कल्प बाँधेको दिन हो, पवन चामलिङले गरिबी मासेर सिक्किमेली जनतालाई संसारकै सबैभन्दा धनी जनता बनाउने सपना देखेको दिन हो। आज मनमा जनताको पक्षमा एउटै सपना र योजना नभएका नेताहरू “जनताको सपना पूरा गर्छु’’ भन्दै जनताको आशा र सपना मारिरहेको छ, जनतालाई हावादारी सपना देखाएर सत्तामा पुगी आफ्नो ढिकुटी भर्ने नेताहरूले जनताको सपनाको नाममा व्यापार गरेका छन्।

के अब गरिबी उन्मूलन दिवस मनाउनु उपयुक्त छ?

सन् १९९४ –को १२ दिसम्बरका दिन एसडीएफले सरकार सम्हाल्दाको समयमा सिक्किममा ४२ प्रतिशत जनता गरिबी रेखामुन्तिर (बीपीएल) थिए। बीपीएल सम्बन्धमा भारत सरकारको योजना आयोगले निर्धारण गरेको परिभाषाअनुसार ग्रामीण क्षेत्रमा प्रतिदिन २७ रुपियाँ अथवा मासिक ८१६ रु. अनि शहरी क्षेत्रमा प्रतिदिन ३३ रु. अथवा मासिक १००० रुपियाँसम्म वा त्यसभन्दा कम आय गर्नेहरू बीपीएलको श्रेणीमा पर्दछन्। यो साह्रै निम्न आय हो, एक प्रकारले अग्घोर गरिबी हो। एसडीएफले सरकार सम्हाल्दा यस प्रकारको अग्घोर गरिबीमा बस्ने मानिसहरूका कुल जनसङ्ख्या सिक्किममा ४२ प्रतिशत थियो। २५ वर्ष एसडीएफ सरकारमा बस्दा गरिबीमा अभूतपूर्व ह्रास आयो।

२०१४-१५–मा भारत सरकारको योजना आयोगले जारी गरेको रिपोर्टमा त्यतिखेर सिक्किममा केवल ८.१९ प्रतिशत मानिसहरू मात्र बीपीएल श्रेणीमा रहनपुगेका थिए, अर्थात २० वर्षमै ३४ प्रतिशत मानिसहरू गरिबीको सीमारेखाबाट बाहिरिए। २०१९ आइपुग्दा सिक्किममा केवल ५ प्रतिशत मानिस मात्र गरिबी रेखामुनि रहेको अनुमान गर्नसकिन्छ। २०१५ -मै विश्व ब्याङ्कले घोषणा गऱ्यो – दोस्रो विश्वयुद्धपछि संसारमा सबैभन्दा तीव्रगतिले गरिबी उन्मूलन गर्ने राज्य सिक्किम हो भनी। यो एउटा असाधारण घटना हो। १९९४–मा एसडीएफले सरकार सम्हाल्दा सिक्किमेली जनताको वार्षिक प्रतिव्यक्ति आय ९ हजार ३०० रु. थियो, २०१९–मा एसडीएफ पार्टी सरकारबाट जाँदा सिक्किमेली जनताको प्रतिव्यक्ति वार्षिक आय ३ लाख ४० हजार रुपियाँ थियो। यसबाट अनुमान गर्नसकिन्छ २५ वर्षमा सिक्किमेली जनताको कति आर्थिक उन्नति भयो। २५ वर्ष सरकार चलाइसक्दा पनि तर एसडीएफले सिक्किमबाट गरिबी पूर्णतया उन्मूलन गरिसकेको दावी गरेन, किनभने एसडीएफले २२ सेप्टेम्बर, १९९३–को दिन गरेको सङ्कल्प पूरा भइसकेको थिएन। एसडीएफ आफ्नो लक्ष्यको अत्यन्त नजिक थियो। २०१९–को चुनाउमा जनताले एसडीएफलाई सरकारमा पुग्ने मत दिएनन्, त्यसैले यो लक्ष्य अधुरो रहेको छ। जो आज सत्तामा पुगेका छन्, उनीहरूसित गरिबी उन्मूलन गर्ने कुनै सपनै छैन। उनीहरू आफूसित सिक्किम र सिक्किमेका लागि कुनै स्पष्ट सपना नभएपछि “जनताको सपना पूरा गर्छु’’ भन्छन्, एसडीएफले त जनताले नसोचेको, नमागेको, नदेखेको माग र सपनाहरू पूरा गऱ्यो।

वर्ष २०२० र २१ –को बेसीजस्तो समय कोरोनाको कारण सारा संसार अवरूद्ध भयो। कोरोनाबाट निस्कनासाथ अरू देश र राज्यहरूले आर्थिक रूपमा सबल बन्न विभिन्न उपाय गरे, जनतालाई राहत वितरण गरे, आर्थिक पुनर्निर्माण गरे। तर, सिक्किमको दुर्भाग्य के रह्यो भने वर्तमान सरकारले कोरोनाकालमा राज्यको आर्थिक व्यवस्थापन गर्ने कुनै काम नगरेकोले जनताले ठूलो आर्थिक क्षति बेहोर्नुपऱ्यो, लाखौँ युवाको गरिखाने मेलो चौपट भयो, बजार-व्यवसाय बन्द भए, गाड़ीहरू थन्किए। जनता लकडाउनका कारण अथाह पीड़ा र कष्टमा पर्दा यो सरकार हात बाँधेर बसिरह्यो, लोकाचारका लागि इकोनमिक रिभाइभल कमिटी बनायो। तर, त्यो कमिटीको न कुनै रिपोर्ट आयो न त्यसमार्फत् जनताले कुनै राहत नै पाए। सरकारको घोर उपेक्षा र कुप्रबन्धनको कारण सिक्किमको अर्थतन्त्र कमजोर भयो, हजारौँ जनता फेरि गरिबीको सीमाभित्र पुगे। आज सरकारले इमानदारितापूर्वक अनि गम्भीर भएर आर्थिक सर्वेक्षण गराएको खण्डमा बीपीएलको सङ्ख्या धेरै बढ़ेर गएको हुनसक्छ। ८४० जना एडहक शिक्षकलाई निकालेर ४०० जनालाई सोझै नियुक्त गर्नुलाई `विकास’ भन्ने सरकारमा, सैकड़ौं कर्मचारी, शिक्षकहरूका नोकरी खोस्ने सरकारमा बीपीएलको सङ्ख्या घट्ला भनेर कल्पना गर्नु पागलप्रलाप मात्र हुनजान्छ।

लगभग आधा जनसङ्ख्या गरिबी रेखामुनि रहेको राज्यलाई गरिबीमुक्तिको सँघारमा पुऱ्याउनसक्ने एसडीएफको सफलताको मूल कारण के हो? विश्वमा कुनै सरकारले यति तीव्रगतिमा गर्न नसकेको काम एसडीएफ पार्टी र नेता पवन चामलिङले गर्नसक्नुका कारण के हो? यो नेता पवन चामलिङको प्रजातान्त्रिक सोच र जनवादी कामहरूका परिणाम हो। यो एसडीएफ पार्टी र सरकारको सेण्टर-लेफ्ट राजनीतिक अर्थशास्त्र (पोलिटिकल इकोनमी) –को परिणाम हो। भालेढुङ्गाको फेदमा त्यतिबेलाको अत्यन्त दुर्गम अनि कालापानी भनिने याङ्गाङ भेकमा जन्मिएर त्यस समयको अन्याय, अत्याचार, दमन, गरिबी, पछौटेपन, अशिक्षा, उपचारको अभाव देखे-भोगेका एक स्वप्नशील युवा पवन चामलिङले एउटा समृद्ध सिक्किमको निर्माण गर्ने आफूसित, युगसित गरेको भाका, आफ्ना सम्पूर्ण समय, ऊर्जा र प्रतिभा लिएर जीवनयुद्धमा होमिएको यथार्थ र उनलाई सधैँ बिथोलिरहने, उचालिरहने, घच्घचाइरहने सपनाहरूले सिक्किमलाई रूप र आत्माबाटै पूर्णतया कायाकल्प गरी सिक्किमलाई देशमै तेस्रो सबैभन्दा धनी, सबैभन्दा कम गरीब भएको राज्य बनायो। यो झूट नबोली एउटै पनि वाक्य फड्कार्न नसक्नेहरूले गर्नसक्ने कामै होइन। एउटा विशाल लक्ष्य, कठोर सङ्कल्प र उँचो सपना देख्ने स्वप्नद्रष्टा नेताको परिश्रमले नै सम्भव भएको हो।

त्यसैले गरिबी उन्मूलन एसडीएफको जनवादी राजनीतिको बटमलाइन हो। गरिबी निरपेक्ष कुरा होइन। जबसम्म समाजमा अन्याय र भेदभाव रहन्छ, एकमुट्ठी मानिसले बहुसङ्ख्यक जनतालाई राज्यका सम्पत्ति र अवसरहरूबाट वञ्चित गर्ने खेल चलाइरहन्छ, एकमुट्ठी मानिस बहुसङ्ख्यक जनताको मालिक बन्ने षड़्यन्त्र गरिरहन्छन्, तबसम्म समाजको गर्भबाट गरिबी नामक बच्चा जन्मिरहन्छ। त्यसैले गरिबीविरुद्धको लड़ाइँ मुख्यतः अन्यायविरुद्धको लड़ाइँ हो। बादलमा बिजुली निहित भएजस्तै सामन्तवाद, पूँजीवादमा अन्याय निहित रहन्छ, एसडीएफ त्यही अन्यायको विरुद्धमा लगातार सङ्घर्षमा छ, जुन अन्याय नै गरिबीकी जननी हो। एसडीएफले ४२ प्रतिशत गरीबीलाई ५ प्रतिशतमा ल्यायो, त्यो एसडीएफको उपलब्धिको एउटा धाप थियो, यो ५ प्रतिशतलाई शून्यमा झार्नु अनि अन्यायलाई पूर्णतया समाप्त पार्नु र लगातार पारिरहनु एसडीएफको सङ्घर्षको अर्को धाप हो। फेरि गरिबी केवल आर्थिक हुँदैन। सही दर्शन र विचारको अभावमा समाजमा मानसिक गरिबी, सांस्कृतिक गरिबी, वैचारिक गरिबी पनि विद्यमान रहन्छ, जसले समाजमा अन्याय, पक्षपात, भेदभावलाई मलजल गर्दछ। प्रजातान्त्रिक सोच र क्रान्तिकारी विचार अनि सङ्घर्षको माध्यमले नै हामी समाजमा व्याप्त मानसित गरिबीलाई समाप्त पार्नसक्छौँ। आज सिक्किममा जुन तथाकथित परिवर्तन भन्ने आएको छ, त्यो यस्तै सामन्ती, सड़ेगलेको, विकृत सोचको परिणाम हो, जसले जनताको आर्थिक गरिबीलाई झनै बढ़ाउनेछ। सिक्किमको राजनीतिमा, देशको राजनीतिमा अनि विश्वको राजनीतिमा एसडीएफ पार्टीको चिह्नारी भनेकै गरिबीविरुद्ध कठोर र निर्णायक लड़ाइँ लड़ेर विजय हासिल गर्ने हो, यही नै एसडीएफको व्यक्तित्व हो। गरिबी उन्मूलन सदैव एसडीएफको एजेण्डामा शीर्षमा रहिरहनेछ।

गरिबी उन्मूलन दिवससँगको एउटा सुखद संयोग के हो भने यसै दिन गरीबवादी राजनीतिका पुरोधा, स्वप्नद्रष्टा, युगद्रष्टा नेता पवन चामलिङको जन्म दिवस पनि हो। जसरी पवन चामलिङलाई उनका आदर्श, कार्य र उपलब्धिहरूबाट छुट्टै राखेर हेर्नमिल्दैन, उसरी नै एसडीएफलाई गरीबवादी राजनीतिक आदर्शबाट टाढ़ा राखेर हेर्नमिल्दैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here