अहलुवालियाले मागे माफी, भने – मेरो बयानको गलत अर्थ लागेकोले दुखित छु

0
1871
एसएस अहलुवालिया (फाइल फोटो)।

दार्जीलिङ, 2 मार्च : भूमिपुत्र सम्बन्धमा गैरजिम्मेवारीपूर्ण बयान दिएर विवादमा घेरिएका दार्जीलिङका सांसद एवं केन्द्रिय मन्त्री एसएस अहलुवालियाले गोर्खा समुदायसँग माफी मागेका छन्। साथै भूमिपुत्र सम्बन्धमा बयानको गलत अर्थ लागेकोले आफू दुखित रहेको उनले बताएका छन्।

शनिबार एक लिखित बयान जारी गरी अहलुवालियाले माफी मागेका हुन्। उनले बयानमा भनेका छन्, “मेरो प्रश्न र बयान वास्तवमा दुई विशेष व्यक्तिका लागि मात्र  थियो। एकजना, जसको पिता नेपाली नागरिकताको भरमा ब्रिटिश सेनामा जागिर खाएर आए। अनि दोस्रो, जसले केही वर्षअघि मात्र नेपाली नागरिकताको आधारमा दुबईमा जागिर खाएर आएको हो। के उनीहरूलाई भूमिपुत्र –को कुरा गर्न सुहाउँछ?”

आफूले उल्लेख गरेका दुई व्यक्तिबारे दार्जीलिङका सबै मानिसलाई थाहा रहेको र उनीहरू को हुन् भन्ने जनताले राम्ररी जान्ने अहलुवालियाको दाबी छ।

उनले थप भनेका छन्, “मलाई २०१७ –को आन्दोलनमा पहाड़ नआएको आरोप लगाइन्छ। वास्तवमा म दिल्लीमा बसेर दार्जीलिङका लागि जति गर्नसक्छु, त्यति दार्जीलिङमा बसेर गर्न सक्दिन। विमल गुरुङको नेतृत्वमा चलेको आन्दोलन जब शिखरमा पुग्यो, तब केही व्यक्तिले नै
१०५ दिनको आन्दोलनलाई धोका दिएर गोर्खाको सपनाको हत्या गरेपछि अहिले उनीहरूले नै भूमिपुत्रको कुरा गर्नु कतिसम्म न्यायसङ्गत हो भन्ने मेरो प्रश्न हो। के गोर्खा जातिलाई त्यस्ता तथाकथित भूमिपुत्रले फेरि धोका दिँदैन र? विमल गुरुङलाई धोका दिनेहरूले कस्तो भूमिपुत्रको कुरा गरेका हुन्?”

आउँदो २०१९-को लोकसभा निर्वाचनमा पहाड़का केही वर्गले दार्जीलिङ संसदीय क्षेत्रलाई भूमिपुत्रद्वारा प्रतिनिधित्व गरिनुपर्छ भन्ने माग गरिरहेको तथा भूमिपुत्रको मागप्रति आफ्नो विरोध नरहेको उनले स्पष्ट पारेका छन्।

मानिस कसरी भूमिपुत्र बन्दछ?, के अधिवास प्रमाण-पत्र भए मात्र मानिस भूमिपुत्र बन्दछ? के दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी, नक्सलबारी, फाँसीदेवा र चोपड़ाका वासिन्दाहरू मात्र भूमिपुत्र हुन त? भन्ने प्रश्न  पनि अहलुवालियाले गरेका छन्।

यसका साथै आफ्नो विवादित मानिएको भिडियो फुटेजमा यी प्रश्नहरूमार्फत् बृहत् प्रजातान्त्रिक देशमा  आफै स्पष्ट हुन चाहेको उनले बताएका छन्।

आफ्ना प्रश्न, भावना र बयानको भूलबुझाइ र निष्कर्षमा आउन अघि आफूले साझा गरेको आफ्नो बयानको भिडियो हेरेमा स्पष्ट हुने दार्जीलिङका सांसदको दाबी छ।

“माथिका प्रश्नहरू र मेरो बयान आफ्नो ठाउँमा सही हुँदाहुँदै पनि मेरो वक्तव्यको आशय खुलाउन नसकेकोवे समाजका केही व्यक्ति र वर्ग भ्रमित भए। र मसँग रिसाए। मीडिया र सोशल मीडियामा मेरो आशयको गलत अर्थ लाग्यो। र मेरो सही भावना र बयान धमिलियो’’, उनले भनेका छन्।

बयानमा अहलुवालियाले थप भनेका छन्, “यो मेरो सही अर्थको भावना र बयानमा म अडिग रहन्छु। र देशप्रति प्रेम भातृत्व र देशभक्ति भएको व्यक्ति राष्ट्र र राष्ट्रका कुनै पनि ठाउँको भूमिपुत्र हुन् भन्ने म ठान्दछु। आज गोर्खा र सिख सिपाहीहरू एकजुट भई देशको सुरक्षाका लागि सीमानामा खड़ा छन्। उनीहरू सबै भारत माताका भूमिपुत्र हुन्। यद्यपि मेरो कुराले धेरैजना गोर्खा दाजु-भाइ, दिदी-बहिनीको भावनालाई ठेस पुगेको कुराले म दुखि छु अनि ईमान्दारीपूर्वक क्षमाप्रार्थी छु।’’

उनले बयानमा अघि भनेका छन्, “मेरो जन्म बङ्गालमा भएको हो। गोर्खा समुदायसँग मेरो सम्बन्ध निक्कै पुरानो हो। भनौं सुवास घिसिङको नेतृत्वमा भएको पहिलो गोर्खाल्याण्ड आन्दोलन र आरबी राईको नेतृत्वमा भएको नेपाली भाषा आन्दोलनकालदेखि नै हो। त्यसपछि विमल गुरुङको नेतृत्वमा गोजमुमोको गोर्खाल्याण्ड आन्दोलन हो।’’

दार्जीलिङबाट सांसद निर्वाचित हुनभन्दा अघिदेखि गोर्खा समुदायको हक अधिकारका लागि लड़िरहेको र सधैँ लड़्ने दाबी गरेका छन्।

“भारतीय संसदको प्रोसिडिङ्ग्समा गोर्खा जाति र गोर्खा चिन्हारीका लागि मैले बोलेका कुराहरू कोट्याएर हेर्दा हुन्छ, त्यो एउटा नमेटिने इतिहास हो’’, अहलुवालियाले थपेका छन्, “संसदीय विषय भएका राजनीतिक मागहरूमा एउटा सांसदको काम कोशिश गर्ने हो, अनि मैले कोशिश गर्नुमा कुनै कसर बाँकी राखेको छुइनँ। वर्तमानमा दार्जिलिङको प्रतिनिधित्व गरी सांसदको भूमिका निर्वाह गर्नु मेरा लागि गर्वको कुरा हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here