भोलिदेखि दार्जिलिङ नगरपालिका अनिश्चितकालीन बन्द

0
1071

दार्जिलिङ, २४ सेप्टेम्बरः भोलिदेखि दार्जिलिङ नगरपालिका अनिश्चितकालसम्म बन्द रहनेछ। दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनकी महासचिव दीपिका गुरुङले जानकारी गराएअनुसार नगरपलिका कार्यालय, स्ट्रिट लाइट, वाटर वर्क्स र कञ्जर्भेन्सी विभाग बन्द रहनेछन्।

आज कोलकातामा बसिएको बैठक असफल बनेपछि भोलिदेखि दार्जिलिङ नगरपालिका अनिश्चितकालीन बन्द राख्ने आफूहरूले निर्णय लिएको उनले बताइन्।

यसका लागि नगरवासीलाई सहयोग गरिदिनका लागि गुरुङले अपील गरेकी छन्।

दैनिक ज्यालामा काम गर्ने ३३४ जनालाई स्थायी गरिनुपर्ने तथा ११० जनाको रिक्त पदलाई स्वीकृति दिइनुपर्ने दार्जिलिङ नगरपालिका कर्मचारी सङ्गठनको माग रहेको छ।

यो माग पूरा गर्न सङ्गठनले सरकारसमक्ष धेरैपटक माग गरे तापनि अहिलेसम्म सरकार यस विषय गम्भीर देखिएको छैन।

आज पनि यी मागहरू सम्बन्ध सङ्गठनका प्रतिनिधि र जेएलबी डाइरेक्टरबिच एक बैठक बसिएको थियो। तर, उक्त बैठक सफल भएन, जसका कारण सङ्गठनले नगरपालिकालाई अनिश्चितकालसम्मका लागि अचल बनाउने निर्णय लिएको हो।

“भोलिदेखि हामी दार्जिलिङ नगरपालिका बन्द राख्दैछौँ। जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म नगरपालिका बन्द रहनेछ”, उनले थपिन्, “कार्यालय, स्ट्रिट लाइट, वाटर वर्क्स र कञ्जर्भेन्सी विभाग बन्द रहनेछन्।”

दशैँको मुखमा नगरपालिका बन्द गर्न पर्दा आफूहरूलाई दुःख लागेको तर बन्द गर्नुबाहेक अर्को विकल्प पनि नरहेको पनि सङ्गठनकी महासचिवले खुलाइन्।

“दशैँको मुखमा हामी बन्द गर्दैछौँ। तर, के गर्नु हामी भुक्तभोगी छौँ। तपाईंहरूले हाम्रो माग र समस्यालाई सबैजनाले बुझिदिनु हुनेछ भन्ने आशा गरेका छौँ।”

उनले थप बताएअनुसार भोलि बिहान ६ बजेदेखि पानीको वितरण बन्द हुनेछ। स्ट्रिट लाइट जल्नेछैनन्। फोहोर पनि उठाइनेछैन।

यति मात्र होइन नगरपालिका कार्यालय बन्द रहनेछ। अभियान्त्रिकी विभाग खोलिनेछैन। “हामीले बन्दको कार्यक्रम नगरेसम्म बङ्गाल सरकार हल्लिनेछैन भन्ने लाग्यो। त्यसैले भोलिदेखि हामी बन्द गर्दैछौँ। हिजोसम्म हामी चुप लागेर बस्यौँ. आजका दिनमा पनि हामी चुप लागेर बस्यौँ भने केही नहुने रहेछ”, उनले भनिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here