दार्जिलिङ, २८ सेप्टेम्बरः विनय तामाङको नेतृत्वमा आज एक टोलीले जीटीएका प्रशासक एवं मुख्य सचिव एआर बर्धनसँग भेट गरी जीटीए रिलिफ फण्ड चियाश्रमिकहरूलाई दशैँअघि नै वितरण गर्नुपर्ने माग गरेको छ। टोलीमा बालम तामाङ र सकल देवान पनि थिए।
टोलीले यस माग सम्बन्धमा बर्धनलाई ज्ञापन पत्र पनि दिएको छ।
विनय तामाङले जानकारी गराएअनुसार मुख्य सचिवले यस विषयलाई गम्भीरतापूर्वक लिएका छन्।
साथै आजै यस विषयमा पार्वतीय मामिला विभागसँग परामर्श गरी निर्णय लिने टोलीलाई वचन दिएको पनि उनले जानकारी गराएका छन्।
कोरोनाको पहिलो लहर शुरू भएको समयको पछिल्लो वर्ष तत्कालीन जीटीए बीओएका अध्यक्ष अनित थापाले जीटीए चेयरम्यान रिलिफ फण्डको स्थापना गरेका थिए।
यस फण्डमा विनय तामाङले ५० हजार रुपियाँ दिएका थिए। उनले पछिल्ला केही दिनयता जीटीए रिलिफ फण्ड जतिसक्दो चाँड़ो चियाश्रमिकहरूलाई वितरण गरिनुपर्ने माग गर्दै आइरहेका छन्।
चियाश्रमिकहरूका नाममा उठाइएको जीटीए रिलिफ फण्ड चियाश्रमिकहरूलाई दशैँअघि नै बाँड़्नु पर्ने तामाङको माग छ।