मालिकवर्गलाई सरकारको साथ! बोनस दुई किस्तीमै

0
1043
(फाइल फोटो)।

सिलगढ़ी, २८ सेप्टेम्बरः दार्जिलिङ पहाड़का चियाश्रमिकहरूलाई दुई किस्ती गरी २० प्रतिशत बोनस निर्णय भएको छ। यद्यपि यस निर्णयमा पहाडका आठैवटा श्रमिक सङ्गठनले असहमति जनाएका छन्।

श्रमिक सङ्गठनहरूका अनुसार राज्य सरकारले जबर्जस्ती पहाडका श्रमिकहरूलाई दुई किस्ती गरी २० प्रतिशत दिने निर्णय गरेको छ।

जानकारीका अनुसार आजको बैठकमा सरकारले पहाडका चियाश्रमिकहरूलाई दशैँअघि १५ प्रतिशत र दशैँपछि ५ प्रतिशत गरी दुई किस्तीमा बोनस दिने निर्णय सुनाएको छ।

यसैबिच, सहश्रमायुक्त मोहम्मद रिजवानले श्रमायुक्तलाई बैठकमा भएको निर्णयबारे जानकारी गराएको पत्रमा पहिलो किस्तीअन्तर्गत १५ प्रतिशत बोनस आउँदो ४ अक्टोबरभित्र र दोस्रो किस्तीको ५ प्रतिशत बोनस ३० अक्टोबरभित्र दिइनेछ।

शुरूदेखि नै मालिकवर्ग दुई किस्तीमा बोनस दिने कुरामा अडिग थियो। १५ सेप्टेम्बरका दिन दार्जिलिङमा बसिएको बैठक असफल बनेपछि बोनस मुद्दा सरकारको टेबलमा पुगेको थियो।

पहाड़का चियाकमानहरूलाई वर्गीकरण नगरी एकैपटकमा २० प्रतिशत बोनस दिइनुपर्ने श्रमिक सङ्गठनहरूका माग थियो।

२२ सेप्टेम्बरका दिन सिलगढ़ीको डागापुरस्थित श्रमिक भवनमा सहश्रमायुक्तको उपस्थितिमा बसिएको बैठक पनि मालिकवर्गको अड़ानका कारण असफल बनेपछि आज पुनः अर्को बैठक बसिएको थियो।

“हामी हाम्रा तीनवटै मागमा अडिग रह्यौँ। तर, सरकारले हस्तक्षेप गरी जबर्जस्ती दुई किस्तीमा बोनस दिने निर्णय सुनायो। हामी यसमा सहमत छैनौँ। त्यसैले यस्तो निर्णयमा हामीले हस्ताक्षर गरेनौँ”, युनाइडेट ट्रेड युनियन अव् दार्जिलिङ हिल्सका सुनिल राईले भने।

अर्कोतिर, मालिकवर्गलाई सरकारको साथ पाएपछि  जर्बजस्ती दुई किस्तीमा बोनस दिने निर्णय सुनाइएको एचपीडब्ल्यूयूका महासचिव एसके लामाले बताए।

“बङ्गाल सरकारले दार्जिलिङ पहाडलाई कतिसम्म हेप्छ भन्ने कुरा फेरि उदाङ्गो भएको छ”, उनले थपे, “यस निर्णयविरुद्ध हामी बैठक बसेर रणनीति बनाउनेछौँ।”

यसैबिच, सबै श्रमिक सङ्गठनका प्रतिनिधिहरूले संयुक्त रूपमा एक भिडियो जारी गरी आफूहरूको आउँदो कार्यक्रमबारे भोलि एक बैठक गरेर निर्णय लिने पनि बताएका छन्।

उल्लेखनीय छ, पछिल्लो वर्ष पनि दार्जिलिङ पहाड़का चियाश्रमिकहरूलाई दुई किस्ती गरी बोनस दिइएको थियो। दुई किस्तीमध्ये कतिपय चियाकमानका श्रमिकहरूले दोस्रो किस्तीको बोनस आजका दिनसम्म पाउन सकेनन्।

यसवर्ष पनि दुई किस्तीमै बोनस दिने भएपछि दोस्रो किस्तीको बोनस कतिपय चियाकमानका श्रमिकहरूले पाउनेछन् के भन्ने प्रश्न उठ्न शुरू भएको छ।

सबैभन्दा ठूलो कुरा यसपालि पनि बोनसमा पहाडका चियाश्रमिकहरू ठगिएका छन्।

चियाश्रमिकहरूको अड़ान र सरकारको हस्तक्षेपअघि श्रमिक सङ्गठनहरू हारेका छन्, जस्तो कि गत वर्ष पनि हारेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here