अहलुवालियाको बयानको गोरामुमोद्वारा भर्त्सना : नीरज जिम्बाले भने – सांसद अहलुवालियाले तत्कालै राजीनामा दिनुपर्छ

0
1435
नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, २ मार्च : दार्जीलिङका लोकसभा सांसद एवं केन्द्रिय मन्त्री एसएस अहलुवालियाले गोर्खाहरूविरुद्ध दिएको गैरजिम्मेवारीपूर्ण बयानको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –ले तीखो शब्दमा निन्दा गरेको छ।

गोरामुमोका वरिष्ठ नेता नीरज जिम्बाले शनिबार जनसंवादसँगको विशेष कुराकानीमा भने, “दार्जीलिङका लोकसभा सांसद एसएस अहलुवालियाले आफ्नो मनभित्र गुम्सिएर बसेको कुरा उकालेका छन्। यदि दार्जीलिङका गोर्खाहरू नेपालका हुन् भने उनले सांसद पदबाट तत्कालै राजीनामा दिनुपर्छ। किनभने नेपालका मानिसहरूको भोटले निर्वाचित भएका व्यक्तिलाई भारतको संसदमा बस्ने कुनै अधिकार नै छैन।’’

अहलुवालियाको बयानप्रति उनले तीखो प्रतिक्रिया व्यक्त गरेका छन्। साथै गम्भीर आक्षेप र ठूलो लाञ्छना लगाएपछि दार्जीलिङ पहाड़मा उठेको विरोधबाट जोगिन खोज्न आफ्नै सोशल साइटमा हतार हतार र अपुरो क्षमा माग्दैमा गोर्खाहरूको राष्ट्रियतामाथि उनले लगाइएको प्रश्न  नहट्ने जिम्बाले बताएका छन्।

उनका अनुसार अहलुवालियाले सार्वजनिक रूपमा यो बयानका लागि माफी माग्नका साथै पाँच वर्षको अवधिमा गोर्खा समुदायका लागि एउटै ठोस कार्य गर्न नसक्नुको अकर्मण्यताप्रति पनि माफी माग्नु पर्नेछ।

“गोर्खाहरूको भोटले जितेर केन्द्रिय मन्त्रीको महत्त्वाकांक्षा पूरा गर्ने अहलुवालियाले गोर्खाविरुद्धै दिएको गैरजिम्मेवारी बयानको गोरामुमोले तीखो शब्दमा भर्त्सना जनाउँछ। यो बयानको सबैपक्षबाट विरोध हुनुपर्छ। दार्जीलिङ संसदीय क्षेत्र ल्याएर उनलाई सांसद बनाउने विमल गुरुङहरूले पनि यो बयानको विरोध गर्नुपर्छ’’, उनले थपे, “आज देश युद्धको स्थितिमा रहेकोले हामी राष्ट्रियहितलाई शिरोपर गरी ध्नानमा राखेर शान्तिमय ढङ्गमा विरोध गरिरहेका छौं। आज देशको अवस्था ठीक भएको भए, सांसद अहलुवालियाले दिएको बयान विरोध चर्को हुनेथियो। हामी गोरामुमो पार्टी सड़कमा पनि ओर्लिने थियौं।’’

जिम्बाले अहलुवालियाको बयानलाई अत्यन्त गम्भीर मुद्दा बताए। उनका अनुसार गोर्खाविरुद्ध यी भाजपाका सांसदले दिएको बयान दुई वर्षअघि राज्य सरकारले नेपाली भाषामाथि गरेको अतिक्रमणभन्दा गम्भीर हो।

“अहलुवालियाकै कारण गोर्खाल्याण्ड आन्दोलन विफल भएको हो। विमल गुरुङहरूलाई ‘मिसगाइड’ गरी जङ्गल पस्न बाध्य गराउने पनि उनी नै हुन्’’, जिम्बाले थपे, “अहलुवालिया बङ्गालका एजेन्ट हुन्। उनले जुन बयान दिए, त्यसबाट बङ्गालको षड़यन्त्रको गन्ध आउँदैछ।’’

गोर्खाका लागि ‘ग’-सम्मको काम गर्न नसकेको यी सांसदले आफूले खाने भाँड़ामा छेंड़ पारेको भन्दै अब अहलुवालियालाई दार्जीलिङ संसदीय क्षेत्रबाट एउटै भोट पाउने सपना नदेख्ने यी गोरामुमो नेताले सुझाएका छन्।

यसका साथै कतै अहलुवालियाले दिएको बयान नै भाजपाहरूको गोर्खाहरूप्रति अड़ान त होइनन् भन्ने पनि उनले प्रश्न गर्दै गोर्खाहरूलाई लिएर आफ्नो अड़ान के छ, त्यो भाजपाले स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

“अहलुवालियाले दार्जीलिङ र गोर्खाहरूको इतिहास र वर्तमान दुवै हेरून्। गोर्खा को रहेछन्, त्यसको अध्ययन गरून्। एउटा जिम्मेवार पदमा बसेका मानिसले सधैँ देशका लागि मरिमेट्ने खाँटी नागरिकका लागि यस्तो बयान दिनु दुर्भाग्यपूर्ण हो’’, उनले थपे “यो एउटा नियोजित षड़यन्त्र हो। यस्तो बयानको सबै राजनीतिक पार्टी, सङ्घ-संस्था, सचेत नागरिकहरूले देशव्यापी चर्को विरोध गर्नैपर्छ। पटक पटक लाग्ने विदेशीको दागविरुद्ध विरोधको सामूहिक स्वर चर्को बनाउनैपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here