दार्जिलिङ, २४ अक्टोबरः तृणमूल कङ्ग्रेस सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई २०२४ मा देशकी प्रधानमन्त्री बनेकी आफूहरूले हेर्न चाहेको विनय तामाङले बताएका छन्।
यसका लागि सङ्कल्पित भएर निष्ठापूर्वक उनलाई सहयोग गर्नुपर्ने तामाङले थप बताएका छन्।
आज उत्तर बङ्गालको चारदिने भ्रमणमा आएकी मुख्यमन्त्री ममतालगायत मन्त्रिमण्डल र प्रशासनिक टोलीलाई स्वागत जनाउँदै विनयले यस्तो बताएका हुन्।
यति मात्र होइन उनले मुख्यमन्त्रीलाई स्वागत जनाउन उनी आउने मार्गमा उपस्थित भइदिने विनय तामाङले सबैलाई अनुरोध गरेका छन्।
‘मुख्यमन्त्री ममता ब्यानर्जीको भ्रमण उत्तर बङ्गाल आमनागरिकका लागि फलदायक हुनेछ-हामी प्रार्थना साँच्दछौँ। मुख्यमन्त्रीले दोस्रोपटक दार्जिलिङ र कालेबुङ जिल्लाको प्रशासनिक बैठक २६ अक्टोबरका दिन खरसाङस्थित टाउन हलमा गर्ने जुन निर्णय लिएकी छन्, त्यो अति सराहनीय छ; यसबाट दार्जिलिङ पहाड़प्रति उनको प्रगाढ़ प्रेम र अटुट विश्वास रहेको बुझिन्छ’, विनय तामाङले विज्ञप्तिमा लेखेका छन्, ’२६ अक्टोबरका यस प्रशासनिक बैठकले अवश्यै पहाड़ले नयाँ दिशा पाउनेछ। यसभन्दा अघि पनि २०१९ मा खरसाङको यसै टाउन हलमा प्रशासनिक बैठक भएको थियो। र यसपटकको प्रशासनिक बैठककलाई दोस्रो भनेर मान्नसकिन्छ। ’