कालेबुङ, २५ अक्टोबरः बिरिक डाँड़ाछेउ गएको ठूलो पैह्रोका कारण पछिल्लो २० अक्टोबरदेखि बन्द रहेको राष्ट्रिय राष्ट्रिय राजमार्ग १० बुधबार बिहानदेखि खोलिने सम्भावना छ।
अहिले पैह्रो गएको ठाउँमा भित्ता काटेर बाटो बनाउने कार्य धमाधम भइरहेको छ भने भोलि (मङ्गलबार) राति नभए बुधबार बिहानदेखि बाटो खुल्ने सम्भावना रहेको जानकारी विभागीय ठेकादारमार्फत पाइएको छ।
बिरिक डाँड़ाछेउ २१ माइलमा राष्ट्रिय राजमार्गको ठूलो भागलाई पैह्रोले क्षति पुऱ्याएको छ, जसका कारण २० अक्टोबरदेखि राष्ट्रिय राजमार्गमा वाहनहरूका चलाचल ठप्प छ।
बाटो जतिसक्दो चाँड़ो खुलाउनका लागि विभागले दिन-रात काम गरिरहेको छ। अहिले भित्ता काटेर बाटो बनाउने कार्य लगभग अन्तिम चरणमा पुगेका कारण मङ्गलबार राति नभए बुधबार बिहानदेखि यातायात सुचारू बन्ने सम्भावना बनेको हो।
राष्ट्रिय राजमार्ग बन्द बनेपछि अहिले कालेबुङ र सिक्किमका सिलगढ़ीगामी वाहनहरू अहिलेघरी लाभा र पेशोकको बाटो भएर गुड़िरहेका छन्।