कालेबुङ, १३ नोभेम्बरः सेवक-रम्फू रेल मार्गको निर्माणकार्य २०२३ को अन्त्यसम्म पूरा हुने पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक अन्सुल गुप्ताले बताएका छन्।
निर्माणकार्य पूरा भएपछि २०२३ को अन्त्यदेखि नै रेल सेवा पनि शुरू गरिने उनको भनाइ छ।
गुप्ताले आज निर्माणाधीन सेवक-रम्फू रेल मार्गको भ्रमण गरी कार्य प्रगतिको निरीक्षण गरे। यसअवसरमा अलिपुरद्वार-कटिहार डिभिजनका रेलवे अधिकारीहरू पनि उपस्थित थिए।
महाप्रबन्धक अन्सुल गुप्ताले रेल मार्गको निर्माणकार्यको प्रगतिबारे सन्तुष्टि व्यक्त गर्दै २०२३ को अन्त्यसम्मै रेल मार्गको निर्माणकार्य पूरा हुने विश्वास व्यक्त गरे। उनले भौगोलिक अवस्थान र अन्य कारणले निर्माणकार्यमा ढिल्याइ भएको तर अहिले निर्माणकार्य तीव्र गतिमा चलिरहेको बताए।
“दिसम्बर २०२३ सम्म निर्माणकार्य पूरा गर्ने हाम्रो जोड़ छ”, उनले थपे, “यो समयावधिभित्र पूरा पनि हुनेछ। त्यसपछि रेल सेवा हुनेछ।”
अर्कोतिर उनले सेवक-रम्फू रेल मार्ग सिक्किमको विकाससँगसँगै देशको सामरिक क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए।
यति मात्र होइन, गुप्ताले रम्फूबाट गान्तोक हुँदै नथुलासम्म रेल मार्गको सर्वेक्षण कार्य पनि शुरू हुने जानकारी गराएका छन्।
उल्लेखनीय छ, तत्कालीन रेलमन्त्री एवं वर्तमान पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले २००९-मा सेवक-रम्फू रेल परियोजनाको शिलान्यास गरेकी थिइन्। त्यससमय यो परियोजना करिब ६ वर्षभित्र अर्थात २०१५ सम्म पूरा हुने बताइएको थियो। तर कानुनी अड़चन झेलेपछि लामो समयसम्म यो रेल परियोजना शुरू हुन सकेन।
हाल यसको निर्माणकार्य तीव्र गतिमा चलिरहेको छ।
सेवक-रम्फू रेल मार्गको लमाइ ४४.९६ किलोमिटर छ, जसमध्ये ४१.५५ किलोमिटर लमाइ दार्जिलिङ-कालेबुङ जिल्लाभित्र र ३.४१ किलोमिटर लमाइ सिक्किमभित्र पर्दछ।