गोर्खाल्यान्डका लागि गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले दिल्लीमा धर्ना दिने

0
957

दार्जिलिङ,  १५ नोभेम्बरः छुट्टै राज्य गोर्खाल्यान्डको मागमा एक्टिभिस्ट समूहले दिल्लीमा धर्ना गर्ने कार्यक्रम बनाएको छ।

एक्टिभिस्ट समूहले आगामी ३ दिसम्बरदेखि  दिल्लीको जन्तर-मन्तरमा तीनदिने धर्ना गर्ने कार्यक्रम तयार पारेको छ।

समूहका प्रमुख किशोर प्रधानले आज यस्तो घोषणा गर्दै गोर्खाल्याण्डप्रेमी जनतालाई जातीय सङ्घर्षका लागि नौलो र फरक बाटो निर्माण गर्ने आह्वान गरेका छन्।

“गोर्खा जातिको सङ्घर्ष र मुक्तिको चेतना हुर्किएको शताब्दी नाघे पनि गलत नेतृत्व, गलत राजनीतिक बाटो, गलत अनि प्रायोजित राजनीतिक उतार-चढ़ाउका कारण हामी लक्ष्यसम्म पुग्न कहिले सकेका छैनौँ। बारम्बार उस्तै राजनीति, उस्तै सङ्घर्षका रूप, उस्तै खाले समर्पण अनि अन्तमा राज्य र केन्द्र सरकारको भरोसामा बाँच्ने परिणाम भोगेको पनि वर्षौं भयो”, उनले भनेका छन्, “अहिले पनि दार्जिलिङ पहाड़मा धेरै राजनीतिक समूह सक्रिय छन्, तर यी राजनीतिक समूहहरूमा विगतका गल्तीबाट शिक्षा लिएको कुनै छनक छैन। केवल नाम अनि झण्डा परिवर्तन भएका छन्। जहिले पनि हार, विश्‍वासघात, बेटुङ्गोमा पुग्ने राजनीतिलाई अब अन्त्य गरेर साँचो गोर्खा राजनीति अनि सङ्घर्षको निर्माणमा ध्यान दिन आवश्यक छ।”

प्रधानले भने, “०० वर्ष सङ्घर्ष गरेर पनि शून्य उपलब्धि हुनु नै निराशाजनक कुरा हो। तर, यो निराशाजनक स्थितिका कारण हाम्रो राजनीति र सङ्घर्षमा रहेका कमी-कमजोरीहरू नै हुन्। यसैले अब गोर्खाको राजनीति टाउकोबाट होइन, जराबाटै उभ्याउन सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। गोर्खा जातिजस्तो उत्पीड़ित, अल्पसङ्ख्यक असुरक्षित जातिका लागि सङ्घर्ष गर्नु उति सजिलो छैन अनि सङ्घर्षबाहेक अन्य विकल्प पनि छैन।”

उनका अनुसार यसै सङ्घर्षको पहिलो कदमस्वरूप गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले संसदको शीतकालीन सत्रलाई केन्द्र गरेर आगामी ३  दिसम्बरदेखि तीनदिवसीय दिल्ली धर्ना कार्यक्रम गर्ने योजना बनाएको हो।

यस धर्ना कार्यक्रममा सहभागी बन्न चाहने गोर्खाल्याण्डप्रेमीले दिल्ली जाने-बस्ने व्यवस्था आफै गर्नुपर्ने पनि किशोर प्रधानको भनाइ छ।

“यदि दिल्ली धर्नाका लागि हामीसित दिल्ली जान चाहन्छन् भने उनीहरूले जाने-बस्ने आदि व्यवस्था आफै गर्नुपर्छ। किनभने, यो सङ्घर्ष गोर्खाल्याण्ड एक्टिभिस्ट समूहमा सामेल कार्यकर्ताहरूको मात्रै सङ्घर्ष होइन, समग्र गोर्खा सन्तानको सङ्घर्ष हो यो। यसैले यस सङ्घर्षमा सहभागी बन्न सम्पूर्णलाई स्वागत जनाइन्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here