शनिवार पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ आञ्चलिक कमिटीका अध्यक्ष किशोर प्रधान। |
कालेबुङ, १६ सेप्टेम्बर : पुलिसले दार्जीलिङ पहाड़मा आतङ्क सिर्जना गरिरहेको आरोप क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले लगाएको छ। क्रामाकपा अनुसार गणतन्त्रको ठूल्ठूला कुरा गर्ने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि पहाड़मा पुलिस प्रशासनलाई अघि लगाएर आतङ्क सृष्टि गरी जन आवाज दबाउने कोशिश गरिरहेकी छन्।
यस आशयको आरोप शनिवार पार्टीको कालेबुङ आञ्चलिक अध्यक्ष किशोर प्रधानले लगाएका हुन्। बिहीवार जीटीएका पूर्व सभासद् एवं विमल गुरुङपन्थी मोर्चा नेता निमा तामङको घर पुलिसले कुड्की गरेको विषयमा प्रतिक्रिया व्यक्त गर्दै प्रधानले यस्तो बयान दिएका हुन्। पुलिसको यस्तो कार्यप्रति विरोध जनाउन अघि आएको क्रामाकपाले हिजो पत्रकार सम्मेलन नै डाकेको थियो।
पत्रकार सम्मेलनमा उनले पुलिसले आतङ्क सष्टि गरेर अमानवीय कार्य गरिरहेको आरोपसमेत लगाए। ‘‘सरकारले कसैको घर कुड्की गरेपछि त्यो सरकारको सम्पत्ति हुन्छ, त्यसलाई सील गरेर राख्न सकिन्छ’’ प्रधानले भने, ‘‘तर पुलिसले दैलो-खिड्की समेत तोड़ेर लानु र परिवारलाई आतङ्कित पार्नु यो अमानवीय कार्य भयो, यस्तो कार्य हामीले कतै पनि देखेका छैनौँ।’’
अदालतको आदेशलाई सबैले सम्मान गर्नु बताउँदै तर पुलिसले जस्तो प्रकारले तामाङको घर कुड्की गरियो त्यो न्यायसङ्गत नभएको बताए। ‘‘कोर्टको भनाइ मान्नुपर्छ, हामी पनि सम्मान गर्छौ तर यो न्यायसङ्गत भएन। किनभने, हामीले धेरैवटा घोटालाकाण्डमा सम्पत्ति कुड्की गरेको देखेका छौँ। सम्पत्ति कुड्की गरेपछि त्यहीँ ठाउँमा सील गरेर राखिन्छ, तर यहाँ सबथोक लगेर आतङ्क मच्चाउने काम हुँदैछ’’, किशोर प्रधानले भने।
यसका साथै क्रामाकपा नेताले राजनीतिक द्वेष राखेर कतै यस्तो प्रकारले घर कुड्की त गरिएको होइन भन्ने शङ्का पनि व्यक्त गरे। ‘‘यस्तो घटना राजतन्त्रमा हुनसक्ला तर प्रजातन्त्रमा हुन सक्दैन’’, प्रधानले थपे, ‘‘सिरियातिर बम पड़्किँदा समेत त्यहाँ सबैभन्दा पहिला मसिना नानीहरूका लागि दूध-खानेकुराहरू पठाइने काम हुन्छ। तर यहाँ त नानीहरूको दूध-बिस्कुट उल्टै खोस्ने काम भयो।’’
निमा तामङले अपराध गर्नु नगर्नु अर्को कुरा हो तर मानवीय हिसाबले पनि एकजना महिला र नानीहरू मात्र भएको घरमा गएर यस किसिमको आतङ्क मच्चाउनु कुनै पनि हिसाबमा न्यायसङ्गत नरहेको क्रामाकपाको भनाइ छ।
पुलिसले यसकिसिमले घर कुड्की गर्नु भनेको कतै पुलिस पनि सत्ताकै हिसाबले चलिरहेको हुनसक्ने क्रामाकपाले शङ्का गरेको छ। यो घटना राजनैतिक द्वेशको कारण नै घटाएको हुनसक्ने क्रामाकपाको शङ्का छ।