दार्जिलिङ, २२ नोभेम्बरः जीटीएमा कार्यरत कर्मचारीहरूका स्थायीकरणका लागि पहल गर्ने जिम्मेवारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि पार्टीका महासचिव अमर लामालाई दिएका छन्।
आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा जीटीए कर्मचारी सङ्गठनको ब्यानरमा सम्पन्न एक सभालाई सम्बोधन गर्ने क्रममा नै थापाले यो जिम्मेवारी दिएका हुन्।
उनले यी कर्मचारीहरूलाई स्थायी गराउने मुद्दा अति नै संवेदनशील रहेको बताउँदै यसका लागि कर्मचारीहरूले नै आफ्नो शक्ति देखाउने समय आएको पनि बताए।
“जीटीएमा कार्यरत कर्मचारीहरूले विगत कैयौँ समयदेखि सेवा प्रदान गरिरहेका छन्। तर, अवकाश ग्रहण गरेकै दिनदेखि उनीहरू पूर्णरूपले बेरोजगार बन्ने गरेका छन्। न पेन्शन पाउँछन्, न अवकाश ग्रहणपछिको सहुलियत नै। यसैले जीटीए कर्मचारीहरू आफ्नो हक र अधिकारको लागि लड्नुपर्छ”, थापाले भने, “यी कर्मचारीहरूले धेरै कष्ट झेलिरहेका छन्। उनीहरूको यस्तो अवस्था ढँटुवारे नेताहरूकै कारण भएको हो। जीटीएका कर्मचारीहरू मेरा लागि कुनै पनि स्थितिमा भोट ब्याङ्क होइनन् अनि उनीहरूले आफ्नो समस्या समाधान गराउनका लागि कुनै पार्टीको झण्डा बोक्नै पर्छ भन्ने मलाई कदापि लाग्दैन।”
उनका अनुसार दार्जिलिङ पहाड़मा यी कर्मचारीहरूलाई धेरै ढाँटे। आफ्नो पार्टीको झण्डा बोक्न लगाए, तर उनीहरूको समस्या समाधानका लागि बोल्नुपर्ने ठाउँमा कहिले बोलिदिएनन्।
अनित थापाले भने, “यी कर्मचारीहरूको समस्या जबसम्म मुख्यमन्त्रीको कानमा पुग्दैन, तबसम्म यो समस्या समाधान हुनेछैन। तर, यी कर्मचारीहरूको समस्या मैले मुख्यमन्त्रीको कानसम्म पुऱ्याइसकेको छु, यसैले अब यी कर्मचारीहरूका माग अवश्यै पूरा हुने आशा गरेको छु। तर कर्मचारी अनि पार्टीका नेतृत्वहरूले पनि यस दिशामा काम गर्न छोड्नु हुँदैन।”
उनले अझै अघि भने, “स्थायीकरणको मुद्दा जीटीएका सम्पूर्ण कर्मचारीहरूको हो, यसैले यो मुद्दालाई पार लगाउन दुवैवटा कर्मचारी सङ्गठन एक हुनपर्छ।”
उल्लेखनीय छ, जीटीए कर्मचारी सङ्गठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक भ्रातृ सङ्गठन हो भने एकीकृत कर्मचारी सङ्गठन तृणमूल कङ्ग्रेसको भ्रातृ सङ्गठन हो। यसैले यी दुवै कर्मचारी सङ्गठनलाई एकसाथ बन्ने पनि अनित थापाले आह्वान गरेका छन्।