सिक्किममा विदेशी पर्यटकको भ्रमणमा रोक

0
873

गान्तोक, १ दिसम्बरः विदेशी पर्यटकहरूलाई सिक्किम भ्रमणमा रोक लगाइएको छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’-को जोखिमलाई ध्यानमा राखेर सिक्किम सरकारले आज (बुधबार) बिहान ६ बजेदेखि लागु हुनेगरी विदेशी पर्यटकहरूका भ्रमणमा रोक लगाएको हो।

साथै सिक्किम सरकारले ओमिक्रोनको सङ्क्रमण राज्यमा छिर्न नदिन सतर्कता अपनाउन शुरु गरेको छ।

राज्यको गृह विभागले हिजो (मङ्गलबार) गरेको आदेशका अनुसार अब अर्को आदेश जारी नभएसम्म सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी गरिनेछैन।

सरकारले यी पर्मिटहरू जारी नगरेसम्म सिक्किममा विदेशी पर्यटकको भ्रमण हुनेछैन।

राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गरी विदेशी पर्यटकहरूका उल्लिखित तीनमध्ये कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको छ।

यसैगरी कोविड अनलकका क्रममा सिक्किम सरकारले राज्यमा प्रवेशका लागि राखिएका अन्य नियमहरू भने यथावत रहेका छन्।

उल्लेखनीय छ, कोरोना सङ्क्रमण कम भएपछि हाल सिक्किम घुम्न आउने देशी-विदेशी पर्यटकहरूको घुइँचो लागेको छ।

 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here