दार्जिलिङ, ३ दिसम्बरः दार्जिलिङ हिल म्याराथनको २१ किलोमिटरको दौड़को पुरुष वर्गमा अनिश थापा विजेता बनेका छन्।
त्यसैगरी महिला वर्गमा सविता पाल पहिलो बनेकी छन्।
दार्जिलिङ पुलिसले आयोजन गरेको दार्जिलिङ हिल म्याराथनको आठौँ संस्करणको आ-आफ्नो वर्गमा सयौँ धावकहरूलाई उछिनेर अनिश र सविता विजेता बनेका हुन्।
२१ किलोमिटरको दौड़ अनित थापाले १ घण्टा १२ मिनट १६ सेकेन्डमा पुरा गरे। दोस्रो र तेस्रो क्रमैले दुर्गा बहादुर बुद्ध दोस्रो अनि नीरज कुमार मौर्य तेस्रो भए।
अर्कोतिर २१ किलोमिटरको महिला वर्गमा दोस्रो र तेस्रो क्रमैले अर्पिता साइनी र सम्झना सुब्बा भए।
उल्लेखनीय छ, अनिश थापाले केही वर्षदेखि लगातार दार्जिलिङको यस हिल म्याराथनमा भाग लिँदै आइरहेका छन्।
यसरी नै आज भएको २१ किलोमिटरको म्याराथानमा दोस्रो स्थान ओगट्न सफल बनेका दुर्गा बहादुर बुद्धले पनि लगभग प्रत्येक वर्ष नै यस म्याराथनमा भाग लिने गरेका छन्।
२०१९-मा उनी पहिलो भएका थिए।
दार्जिलिङ पुलिसले बर्सेनि आयोजना गर्दै आइरहेको यो म्याराथनमा भाग लिन देशका विभिन्न प्रान्तबाट प्रतियोगी सामेल भएका थिए।
यस दौड़ प्रतियोगितालाई थप रोचक बनाउन देशका एक प्रसिद्ध धावक मेजर डीपी सिंहले पनि सहभागिता जनाएका थिए, जसले यस कार्यक्रममा सामेल हुनपाउँदा धेरै खुशी लागेको बताए।
आजका यस कार्यक्रममा भारतीय फुटबलका लिजेन्ड भाइचुङ भोटिया, भारतीय हकी टीमका पूर्व कप्तान भरत छेत्रीलगायत अन्य पनि सामेल भएका थिए।
अर्कोतर्फ १० किलोमिटरको म्याराथानमा राखिएको थियो, जसमा सयौँ प्रतियोगीले भाग लिएका थिए।
पुरुष वर्गको १० किलोमिटरको दौड़मा पहिलो प्रशान्त रोपाल, दोस्रो मोहम्मद मजारुद्दीन र तेस्रो रिवाज छेत्री भए भने महिला वर्गमा पहिलो अञ्जली सुब्बा, दोस्रो ज्योति र तेस्रो विनीता गुर्जर भए।