विष्टले भेटे विकल राई, शहीद राईका परिवारप्रति समवेदना प्रकट

0
1064

दार्जिलिङ, ११ दिसम्बरः  दार्जिलिङका सांसद राजु विष्टले आज नयाँ दिल्लीमा शहीद हवलदार सतपाल राईका छोरा बिकल राईलाई भेटेर ऐक्यबद्धता, समर्थन र समवेदना प्रकट गरेका छन्।

दुःखको यस समयमा गोर्खा रेजिमेन्टलगायत सिङ्गो भारतीय सेना तथा भारतीय गोर्खाहरू शहीद राईका परिवारका साथ रहेको जानकारी आफूले विकल राईलाई गराएको पनि विष्टले बताएका छन्।

सांसदले शहीद राईको पार्थिव शरीर चिह्नित गर्न डीएनए टेस्टका लागि हैदरबाद गरिएकाले यस प्रक्रिया पुरा हुन थप दुई-तीन लाग्ने र सबै प्रक्रिया पुरा भएपछि पार्थिव शरीर विशेष विमानमार्फत तत्काल तकदा चियाकमान पुऱ्याइने व्यवस्था गरिएको पनि जानकारी गराएका छन्।

विष्टका अनुसार उनले रक्षा राज्य मन्त्री अजय भट्टसँग निरन्तर सम्पर्क गरिरहेका छन्। साथै शहीद राईका पार्थिव शरीरलाई यथाशीघ्र घर पुऱ्याइयोस् भनी सुनिश्चित गर्न रक्षा मन्त्रालयका अधिकारीहरूसँग निकटताका साथ समन्वय स्थापित गरिरहेका छन्।

सांसद राजु विष्टले शहीद सतपाल राईका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।

‘८ दिसम्बर, त्यो दुर्भाग्यपूर्ण दिनमा दार्जिलिङले आफ्नो एकजना बहादुर छोरो हवलदार सतपाल राईज्यूलाई गुमायो। भारतीय सेना र गोर्खा रेजिमेन्टका उत्कृष्ट परम्पराहरूका पालन गर्दै, सतपालज्यूले आफ्नो अन्तिम साससम्म हाम्रो राष्ट्रको सेवा गर्दै आफ्नो सर्वोच्च बलिदान दिनुभयो’, राजु विष्टले एक विज्ञप्तिमा भनेका छन्, ‘कृतज्ञ राष्ट्र र दार्जिलिङ पहाड़, तराई अनि डुवर्स तथा भारतभरिका गोर्खाहरूका तर्फबाट आज मैले हवलदार सतपाल राईका बहादुर छोरा सिपाही विकल राईज्यूलाई भेटेर हाम्रो ऐक्यबद्धता, समर्थन र समवेदना प्रकट गरेँ। विकल २२ वर्षका मात्रै छन् तर पनि उहाँ आफ्ना बुबाजस्तै दृढ़ निश्चयी, साहसी, बहादुर, मजबुत अनि आफ्ना सम्पूर्ण क्षमताका साथ राष्ट्रको सेवामा तत्पर गोर्खा सैनिक हुनुहुन्छ। यस्तो कठिन समयमा पनि उहाँको आत्मबल र देशभक्ति साँच्चै प्रेरणादायी छ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here