दार्जिलिङ, १७ दिसम्बरः अहोरात्र आफ्नो कार्यमा दत्तचित्त र इमानदारसाथ खटिँदा पनि पाउनुपर्ने मासिक वेतन र हक-अधिकार आजपर्यन्त नपाउँदा जीटीए क्षेत्रका सात सयभन्दा अधिक आशाकर्मी बिहीबार दार्जिलिङको सडकमा ओर्लिन बाध्य बने।
सधैँ शिशु अनि आमाहरूका स्वास्थ्य जाँचका लागि खट्ने यी आशाकर्मीहरू हिजो आफ्नै भविष्यका लागि शहरको सडकमा निस्कन बाध्य बनेका हुन्।
वी वान्ट जस्टिसको नारा लगाउँदै दार्जिलिङ शहरको परिक्रमा गरेपछि यी आशाकर्मीहरूले जीटीएको मुख्यालय लालकोठीको मूलद्वारअघि पनि आफ्नो स्थायीकरणको माग गरेका थिए।
८ वटा मूल माग लिएर नै यी आशाकर्मीहरू हिजो दार्जिलिङको सडकमा ओर्लिएका थिए भने उनीहरूका माग पूरा नभए सिलगढ़ी र कलकत्ताको सडकमा पनि नारा लगाउने चेताउनी दिएका छन्।
यति मात्रै होइन, राज्यपाल जगदीप धनखड़सित पनि भेट गरी आफ्ना समस्याहरू बताउने उनीहरूले बताएका छन्।
पश्चिम बङ्गाल आशाकर्मी युनियनको नेतृत्वमा नै आज दार्जिलिङमा जीटीए क्षेत्रका आशाकर्मीहरूले नारा-जुलूस गरेका थिए, जसको मूल मागहरूमा स्थायीकरण वा आशाकर्मीहरूलाई सरकारी कर्मचारीको मान्यता दिनुपर्ने, मासिक वेतन कम्तीमा पनि २१ हजार रुपियाँ दिनुपर्ने, आशाकर्मीहरूलाई युनिफर्म दिनुपर्ने, कोविड-१९-को वर्तमान समयमा उनीहरूलाई मासिक १० हजार रुपियाँ अतिरिक्त भत्ता दिनुपर्ने सामेल रहेको युनियनकी राज्य सचिवा इस्मत आरा खातुनले बताएकी छन्।
यसरी नै आशाकर्मी ओम राईले आफूहरूले 3 वर्षअघि आशाकर्मीको रूपमा नियुक्ति पाए पनि अहिलेसम्म मासिक भत्ता पनि नपाएको जानकारी गराइन्। यसैकारण उनीहरू आज सडकमा ओर्लिन बाध्य बनेको उनको भनाइ थियो।