दार्जीलिङ, 4 मार्च : दार्जीलिङका सांसद एवं केन्द्रिय मन्त्री एसएस अहलुवालियाले गोर्खा समुदायलाई लिएर दिएको गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक बयानको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले तीखो शब्दमा विरोध तथा भर्त्सना गरेको छ।
सोमवार केन्द्रिय समिति सदस्य प्रियवर्धन राईले एक प्रेस विज्ञप्ति जारी सांसद अहलुवालियाको बयानको तीखो शब्दमा निन्दा गरेका हुन्।
विज्ञप्तिमा उनले सांसद अहलुवालियाको बयानलाई सम्पूर्ण गोर्खा समाजका लागि कलङ्क र पार्टी अध्यक्ष विमल गुरुङप्रति विश्वासघातको संज्ञा दिएका छन्।
साथै राईले गोर्खा जनमुक्ति मोर्चालगायत सम्पूर्ण युवावर्गले गोजमुमो अध्यक्ष विमल गुरुङको जाति र माटोप्रतिको अगाध माया अनि गोर्खाल्याण्डप्रतिको समर्पणमा पूर्ण रूपले विश्वास राख्ने पनि थप बताएका छन्।
“विश्वासघातीलाई अनुहारमा हेरेर चिन्न सकिँदैन, यसैले हामीलाई विश्वासघात भएकोमा हामी दुःखी छौं”, प्रियवर्धन राईले विज्ञप्तिमा थप भनेका छन्, “सांसदको बयानले अध्यक्ष अति नै दुखित हुनुहुन्छ। र यसबारे उनले आफ्नो घटक दललाई विरोध गर्नुहुनेछ।”
सांसद अहलुवालियाको विवादित बयानपछि जुन स्पष्टीकरण आएको छ, त्यसलाई उनीहरूले दुईवटा आधारमा हेरेको पनि राईले बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “पहिलो उनको स्पष्टीकरणले हामीलाई सन्तुष्ट बनाएको छैन। अनि दोस्रो उनले दुइजनालाई आरोप लगाउँदै एकजना जसका पिता नेपाली नागरिकताको भरमा ब्रिटिश सेनामा जागिर खाएर आएको अनि दोस्रो, जसले गत केही वर्ष अघिसम्म मात्र नेपाली नागरिकताको आधारमा दुबईमा जागिर खाएर आएकाहरूलाई आफ्नो बयानले लक्षित गरेको स्पष्टीकरण दिएका छन्।”
राईले विज्ञप्तिमा थप भनेका छन्, “उनको आरोपमा नाम नतोकेको भए तापनि यसबारेमा विनय तामाङले आफ्नो स्पष्टीकरण लिखित रूपमा दिइसकेका छन्। विनय तामाङले सांसदको आरोप र बयानविरुद्ध अदालतमा जाने चुनौती पनि दिएका छन्। हामी माग गर्छौं, विनय तामाङले चाँड़ोभन्दा चाँड़ो यो मुद्दालाई अदालतमा लैजाऊन्। र सांसद अहलुवालियाले पनि अदालतमा यो कुरालाई प्रमाणित गरून्।”
उनले अहलुवालियाको बयान र आरोपले आफूहरू पनि हतप्रत बनेको बताएका छन्। हामीलाई विदेशी कलङ्क लगाउने कुनै पनि प्रकारको कार्यलाई गोर्खाहरूले सहन गर्नेछैन”, प्रियवर्धन राईले भने।