कालेबुङमा दम्पतीको जघन्य हत्या

0
948

कालेबुङ, २८ दिसम्बर: कालेबुङको तीन माइलस्थित टासिडिङ्गमा दम्पती ६८ वर्षीय खड्गबहादुर खड्का उर्फ शम्भु छेत्री र करिब ४८ वर्षीय विष्णु छेत्रीको जघन्य हत्या भएको घटना प्रकाशमा आएको छ।

यो मर्मान्तिक घटना कहिले भएको हो? सो किटान गरेर पुलिस र स्थानीय मानिसहरूले बताउन सकेको छैन। साथै हत्या कसले र कुन उद्देश्यले गरिएको हो, त्यो खुलिएको छैन। कालेबुङ पुलिस घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ। पुलिसले दुवैजनाको शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाएको छ।

स्थानीय मानिसहरूका अनुसार उनीहरूले यी दम्पतीलाई २५ दिसम्बरका दिनदेखि घरबाहिर देखेका थिएनन्। साथै लगातार फोन गर्दा खड्का दम्पतीले उठाएका थिएनन्, जसका कारण शङ्का लागेर केही स्थानीय मानिस खड्गबहादुर खड्काको घर गई ढोका खोल्दा पति पत्नी दुवै रक्ताम्मे अवस्थामा लडिरहेका पाएपछि उनीहरूले सोझै पुलिसलाई घटनाबारे खबर गरेका थिए।
अज्ञात हत्याराहरूले यी दम्पतीको गला रेटेर हत्या गरेका छन्।
स्थानीय मानिसहरूका अनुसार खड्गबहादुर खड्का गाई बाख्रा पालन र बेचबिखन गरी जीवन धान्दै आइरहेका थिए।

खड्गबहादुर खड्काले करिब तीन महिना अघि विष्णु छेत्रीलाई विवाह गरेका थिए। विष्णु छेत्री खड्गबहादुर खड्काकी तेस्रो श्रीमती हुन्।

अर्कोतर्फ लुटपाटकै कारण यी दम्पतीको हत्या भएको हुनसक्ने स्थानीय मानिसहरूको अनुमान छ। हत्याराहरूलाई पक्राउ गरी कठोर दण्ड दिनुपर्ने उनीहरूको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here