दार्जिलिङ र सिक्किममा बाक्लो हिमपात, बढ्यो जाडो (फोटो फिचरसहित)

0
943

दार्जिलिङ, २९ दिसम्बरः करिब ४ वर्षपछि फेरि दार्जिलिङ शहर केही समयका लागि हिउँले सेताम्मे बन्यो।

यति मात्रै होइन, शहरदेखि २ किलोमिटर टाढ़ामा पर्ने सिंहमारीमा पनि आज बिहान हल्का हिउँ पऱ्यो, जबकि टाइगर हिल, घूम-जोरबङ्लो, सेन्ट पल्स, लालकोठी, बतासेलगायत अन्य स्थानमा भने बाक्लो निकै हिउँ पऱ्यो।

टाइगर हिलमा दुई इञ्चभन्दा बेसी हिउँ जमिएको छ।

अर्कोतर्फ, सन्दकफू-फालुटमा पाँच इञ्चभन्दा अधिक हिउँ जमिएको जानकारी पाइएको छ।

दार्जिलिङ शहरभित्र आजभन्दा ४ वर्षअघि अर्थात १ जनवरी २०१९-मा हल्का हिउँ परेको थियो। यद्यपि, त्यस समय परेको हिउँ केही मिनटमा नै बिलिएको थियो भने आज शहरमा परेको हिउँ आधा घण्टासम्म जमिरह्यो।

यसैबिच, आज चौरस्तामा परेको हल्का हिउँमा पर्यटकहरू धेरै आनन्दित बने।

समान्देन फरेस्ट बस्ती रिम्बिक-लोधोमा।

हिउँ पर्नसाथ पर्यटकहरू नाच्न थाले, रमाएर आफन्तहरूलाई फोन गर्न थाले अनि मोबाइलको क्यामेरा खोलेर आफन्तहरूलाई दार्जिलिङमा हिउँ परेको देखाउन शुरू गरे।

दार्जिलिङमा हिउँ परेका कारण पर्यटकहरू अत्यधिक आनन्दित बनेका थिए भने स्थानीय मानिसहरूले पनि यसको मज्जाले आनन्द उठाए। तर, यसको ठीक विपरीत अत्यधिक हिउँका कारण घूम-जोरबङ्लो, पुबुङ फाटक आदिका सड़क मार्गहरू ठप्प बनेका थिए; जसका कारण गाडी चालकहरूले सङ्कटको सामना गरे। फलस्वरूप, दार्जिलिङ पुलिसले एक सूचना जारी गरी दार्जिलिङका विभिन्न सडक मार्गमा गाडीहरूका चलाचल ठप्प राख्ने निर्देश दिन पऱ्यो। जसका अनुसार, दार्जिलिङ शहरदेखि घूम, टाइगर हिल, सुकेपोखरी नजिक सिमाना,  मानेभञ्ज्याङ, सन्दकफू, फालुट आदि स्थानका सडक मार्गहरूलाई बिहानदेखि ठप्प राखिएको थियो।

पुलिसले अप्रिय घटनादेखि बच्नका लागि अनावश्यक यात्रा नगर्ने पनि सुझाउ दिएको छ।

टाइगर हिल, दार्जिलिङ।

यति मात्रै होइन, सन्दकफू, टङ्लु र वरिपरिका क्षेत्रहरू आज बिहान 100 भन्दा बढ़ी पर्यटक अत्यधिक हिमपातका कारण अड़्केको जानकारी दार्जिलिङ जिल्ला प्रशासनमार्फत पाइएको छ।

यसैले ती पर्यटकहरूलाई प्रशासनले त्यहाँका घर वा होटलहरूमा नै बस्ने सुझाउ पनि दिएको छ।

उनीहरूलाई यथाशीघ्र उद्धार गर्नका लागि एसएसबीसहित स्थानीय पुलिसले खोजी अभियान शुरू गरेको पनि पुलिसले बताएको छ।

अर्कोतर्फ, उत्तर सिक्किमको लाचुङ भेल्ली र पश्चिम सिक्किमको बर्से, चिवाभञ्ज्याङ, हिले ओख्रे आदि स्थानमा पनि व्यापक हिउँ परेको छ।

सिञ्चेल धाम, दार्जिलिङ।
लाचुङ भेल्ली, उत्तर सिक्किम।
लाचुङ भेल्ली, उत्तर सिक्किम।
टाइगर हिल, दार्जिलिङ।
लाचुङ, उत्तर सिक्किम।
तेन्जिङ-हिलेरी पार्क, मार्तम पश्चिम सिक्किम।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here