सिलगढी, २९ दिसम्बरः दार्जिलिङका सांसदका राजु विष्टले विशेष कारणवश दोस्रो चरणको त्रिपक्षीय बैठक हुन ढिल्याइ भइरहेको बताएका छन्।
यद्यपि उनले त्यो विशेष कारण के हो? सो भने खुलाएनन्। आज सिलगढी आएका विष्टले बाघडुग्रा हवाइअड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
दोस्रो चरणको त्रिपक्षीय वार्ता हुन ढिल्याइ भइरहे तापनि आउँदो वार्तामा स्पष्ट रूपमा अघिल्लो भिजन जनतासमक्ष राख्न सकियोस् भनी भाजपा र यसका नेतृत्वहरूले कार्य गरिरहेको उनको दावी छ।
अर्कोतर्फ, सिलगढ़ीका केही नेताहरूका व्यक्तिगत स्वार्थ र महत्त्वाकाङ्क्षाका कारण सिलगढी शहरको भने जस्तो विकास नभएको आरोप लगाउँदै सांसद राजु विष्टले यस शहरलाई स्मार्ट र ग्रीन सिटी बनाउनका लागि ऊर्जावान युवाहरूलाई अघि बढाउन मानिसहरूसमक्ष अपील गरेका छन्।
विष्टको यो अपील नगरनिगमको चुनाउलाई केन्द्र गरी हो। उनी आज सिलगढी नगर निगमको चुनाउलाई ध्यानमा राखेर सिलगढी आएका हुन्।
स्मरण रहोस्, सिलगढी शहरमा नगरनिगम चुनाउको बिगुल बजिसकेको छ। आउँदो २२ जनवरीका दिन यहाँ नगरनिगमको चुनाउ हुँदैछ, जसका लागि हिजैदेखि नामाङ्कन भर्ने कार्य पनि शुरू भइसकेको छ भने केही राजनीतिक दलले आ-आफ्नो उम्मेदवारको घोषणा गरी चुनाउ प्रचार पनि शुरू गरिसकेका छन्। सिलगढी नगरनिगम चुनाउको मतगणना २५ जनवरीका दिन हुनेछ।