गान्तोक, 4 मार्च : राज्यको सत्तारूढ़ पार्टी सिक्किम प्रजातान्त्रिक (एसडीएफ)-को 27औं स्थापना दिवसकै दिन प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले सोमवार मामरिङमा धिक्कार दिवस पालन गर्यो। यो धिक्कार दिवसलाई पार्टीका कार्यवाहक अध्यक्ष एवं विधायक कुङ्गा निमा लेप्चाको अध्यक्षता गरेका थिए।
“आजभन्दा 27 वर्षअघि नाम्चीमा स्थापना भएको एसडीएफले सिक्किम बर्बाद गरेको, अहिले देशमा नै सबैभन्दा ज्यादा बेरोजगार जन्माएको, देशमा सबैभन्दा ज्यादा आत्माहत्या गर्ने राज्य भएको, राज्यलाई अत्यधिक ऋणमा डुबाएको, सिक्किमका सबै प्राकृतिक सम्पदा र सुन्दरता एसडीएफ सरकारले बेचेर खाएको, सिक्किमको जात-जातिलाई टुक्रा -टुक्रा पारेर कहिले नजोड़िने अवस्थामा पुर्याएको, सिक्किममा स्थपित भएको औद्योगिक एकाइहरूमा मजदुरहरूलाई हेपिँदा पनि सरकारले न्याय दिनु नसक्ने भएको, हेभेन्ली पाथका धर्मावलम्बीहरूले आफ्ना गुरु हजुरलाई सिक्किम प्रवेशको अनुमति दिनुपर्छ भनेर धरना गर्दा पनि एसडीएफ सरकारले अनुमति नदिएकोले यो धिक्कार दिवस पालन गरिएको हो”, एसकेएमका प्रचार प्रसार उपाध्यक्ष वीरेन्द्र तामलिङद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
सभामा धिक्कार दिवस पालन गर्नुको आवश्यकताबारे पार्टीका प्रवक्ता जेकब खालिङले खुलाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष लेप्चाले प्रतिवर्ष एसकेएमले 4 मार्चलाई धिक्कार दिवसको रूपमा पालन गर्ने बताए।
विज्ञप्तिमा दाबी गरिएअनुसार सभामा विभिन्न औद्योगिक एकाइहरूबाट मजदुर एसकेएम पार्टीमा सामेल भएका छन्।
दाबीका अनुसार एचआरडीका अवकाशप्राप्त उपनिर्देशक एचपी खनाल, नवीन दवाडी, मेनुका पाण्डे, जाइडस दवाई कारखानाबाट 11 परिवार मजदुर, वाईवाईबाट 4 परिवार, इन्टास दवाई कारखानाबाट 7 परिवार, सङ्ग्रिला फार्माबाट 8 परिवार, गोदरेजबाट 4 परिवार मजदुर गरी कुल 37 परिवार एसकेएम सामेल भएका छन्।