प्रवीण मादलवादक एवं मादल अन्वेषक काजी सिंहलाई पद्मश्री पुरस्कार

0
992

कालेबुङ, २५ जनवरीः कालेबुङनिवासी प्रवीण मादलवादक एवं मादल अन्वेषक काजी सिंह ‘विद्यार्थी’ यस वर्षको पद्मश्री पुरस्कारले सम्मानित हुनेछन्।

आज यस वर्षको पद्मविभूषण, पद्मभूषण र पद्मश्री पुरस्कारबाट सम्मानित हुने विशिष्ट व्यक्तिहरूका नाम घोषणा गरिएको छ, जसमा उनी पनि एकजना छन्।

मादल वादन र यसको अन्वेषणमा जीवन अर्पण गर्दै आएका ७९ वर्षीय काजी सिंहले मादलमाथि अनुसन्धान ग्रन्थ मादल (१९६७), सङ्गीत सरोवर (१९८६), Sangeet for Beginners (१९८८), बिर्सिएको संस्कृति फेरि दोहोऱ्याऔँ (१९९८), श्रीमादल – शास्त्रीय एवं व्यावहारिक पक्ष (२०१४) प्रकाशमा ल्याइसकेका छन् भने श्रीमादल कलानिधि प्रकाशित हुन बाँकी नै छ।

उनी ६०-का दशकमा हिन्दी फिल्मीमा मादलेसमेत रहिसकेका छन् । बम्बईको चलचित्र उद्योगमा लक्ष्मीकान्त प्यारेलाल, कल्याणजी-आनन्दजी, राम-लक्ष्मण, शङ्कर जयकिशन, अजय स्वामी आदि सङ्गीतकारहरूसित मादले बनी उनले साथ दिएका थिए। पछि गान्तोकको टाशी नामग्याल एकाडेमीका सङ्गीत शिक्षक बने। र त्यहींबाट अवकाश ग्रहण गरे।

अहिले उनले कालेबुङमै मादलको प्रशिक्षण केन्द्र खोलेर सञ्चालन गरिरहेका छन्।

नेपाली लोक सङ्गीत र जीवनको एक अभिन्न वाद्ययन्त्र मादलको ज्ञान प्रचार यसको अनुसन्धान तथा प्रलेखीकरणमा यी प्रवीण मादलवादक एवं मादल अन्वेषक काजी सिंहले गरेका कार्य उल्लेखनीय र स्तुत्य छ।

उनका छोरो पण्डित निशान्त सिंह भारतका प्रख्यात पखवाजवादक हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here