सिलगढी, ५ फरवरीः तस्करीका लागि लगिरहेको चितुवाको छालासहित दार्जिलिङनिवासी दुई व्यक्ति छिरिङ तामाङ र पासाङ तामाङ (लामा)-लाई आज बेलाकोबा फरेस्ट रेञ्जका अधिकारीहरूले पक्राउ गरेका छन्।
छिरिङ तामाङ दार्जिलिङ ल्हासाभिल्ला रोज ब्याङ्कनिवासी तथा पासाङ तामाङ (लामा) डीबी रोड रङ्बुल जोरबङ्ग्लोनिवासी रहेको बेलाकोबा फरेस्ट रेञ्चका अधिकारी सञ्जय दत्ताले जानकारी गराएका छन्।
उनले थप जानकारी गराए अनुसार आज एक गोप्य सूचनाको आधारमा वनविभागको एक टिमले जलपाइमोडमा डब्ल्यूबी ७६ ७४२४ नम्बरको सुमो गोल्ड वाहनलाई रोकेर त्यस वाहनभित्र तलासी गर्दा तस्करीका लागि लगिरहेको चितुवाको छाला भेट्टाउनका साथै यी दुई व्यक्तिलाई पक्राउ गरेको हो।
वाहनमा अन्य एक व्यक्ति पनि रहेको तर ती युवक भाग्न सफल बनेको बताइएको छ।
पक्रा परेका यी दुई व्यक्तिविरुद्ध वन्यजीव संरक्षण अधिनियम १९७२-को धारा ९, २९, ३९ र ४९ (बी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।