तृणमूल विधायक उदयन गुहाको बयान संविधानविरोधी; राष्ट्रद्रोहको मामिला हुनपर्छ : क्रामाकपा

0
990

सिलगढी, २२ फरवरीः दिनहाटाका विधायक उदयन गुहाले छुट्टै राज्य माग्नेहरूविरुद्ध दिएको धम्कीपूर्ण बयानको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले तीखो शब्दमा भर्त्सना जनाएको छ।

यी तृणमूल विधायकले छुट्टै राज्य माग्नेहगरूको खुट्टा भाँचिदिने धम्कीपूर्ण बयान दिएका थिए।

उनले यो १९ फरवरीका दिन दिएका थिए।

तृणमूल विधायक गुहाको यस बयानलाई संविधानविरोधी, तानाशाही र राष्ट्रविरोधीको संज्ञा दिँदै क्रामाकपाले गुहामाथि राष्ट्रद्रोहको मामिला हुनपर्ने माग गरेको छ।

’१९ फरवरीका दिन दिनहाटाका तृणमूल विधायक उदयन गुहाले ‘छुट्टै राज्य माग्नेहरूका खुट्टा भाँचिदिन्छु’ भनेर दिएको धम्कीपूर्ण बयान भारतको संविधानविरोधी हो। यसरी संवैधानिक अधिकार माग्नेहरूका खुट्टा भाँचिदिन्छु भन्नु तानाशाही संविधानविरोधी र राष्ट्रविरोधी हो। उनीमाथि राष्ट्रद्रोहको मामिला हुनपर्छ’, क्रामाकपा प्रवक्ता अरुण घतानीले थप भनेका छन्, ‘भारत सरकारले तृणमूल विधायकको यस बयानलाई संज्ञानमा लिएर कारबाही गर्नपर्छ। छुट्टै राज्यको माग भारतको संविधानको धारा ३ (क, ख, ग)-ले दिएको अधिकार हो। यस्ता बयानबाट उदयन गुहा, उनको दल र शाषक दलको चरित्र कतिसम्म फासीवादी तानाशाही र स्वेच्छाचारी छ भन्ने कुरा स्पष्ट हुन्छ।’

यति मात्र होइन, अल्पसङ्ख्यक जनगोष्ठीहरूले शासक तथा बहुसङ्ख्यक जाति गोष्ठीको सुपरिकल्पित शोषण र वञ्चनाबाट मुक्ति पाउन भारतको सङ्घीय लोकतान्त्रिक व्यवस्थामा छुट्टै राज्यको माग गर्ने प्रावधान रहेको कुरा के तृणमूल विधायक उदयन गुहालाई थाह छैन? भन्ने प्रश्न पनि अरुण घतानीले गरेका छन्।

साथै उन्मुक्ति चाहने कसैले यस्ता कुरा सहन नगर्ने उनको भनाइ छ।

के भनेका थिए तृणमूल विधायक उदयन गुहाले?

तुफानगञ्ज नगरपालिकामा चुनाउ प्रचार गरिरहेका उदयन गुहाले छुट्टै राज्य माग्नेहरूका खुट्टा भाँचिदिने बताएका थिए।

“छुट्टै राज्य कोचबिहार माग्नेहरूका खुट्टा रहनेछैन”, उदयन गुहाले थपेका थिए, “कोचबिहार राज्यको समर्थनमा यदि कसैले ऱ्याली निकालेको खण्डमा उनीहरूको म खुट्टा भाँचिदिन्छु।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here