राष्ट्रिय राजमार्गका ठाउँ ठाउँमा पैह्रो, यातायात ठप्प

0
1473

सिलगढ़ी, 15 सेप्टेम्बर : राष्ट्रिय राजमार्ग 10 –मा शनिवार लगातार दोस्रो दिन यातायात ठप्प भएको छ। केही दिनदेखि लगातार पैह्रो सोह्रिएर झरिरहेकोले राष्ट्रिय राजमार्गमा घरी घरी यातायात ठप्प हुनथालेको छ। शुक्रवार बिहानै 29 माइल र गेलबीच सड़कको आधा भागै सोह्रिएर झरेपछि यातायात केही घण्टा ठप्प भएको थियो। विभागको सक्रियताले अपरान्ह एकतर्फी खोलिएको थियो। यद्यपि शनिवार सखारै कालीझोड़ा नजिक सेतीझोड़ा र भसुवामा पैह्रो गएपछि पुनः राष्ट्रिय राजमार्गमा यातायात ठप्प भएको छ। जसको कारण यात्रुहरू बिचल्लीमा परेका छन्।
घरी घरी ठप्प हुनथालेकोले राष्ट्रिय राजमार्गमा यातायातको कुनै भरोसा छैन। स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्गमा झरिरहने पैह्रोका लागि टिस्टाको हाइडल प्रोजेक्टलाई दोष्याएका छन्। ड्यामको कारण जमिएको पानीले जमिन खोतल्ने गरेकोले पैह्रो लगातार झरिरहेको उनीहरूको भनाइ छ।
केही दिनदेखि राजमार्गमा पैह्रो निरन्तर छ। कोही पनि राजमार्ग भएर आज यातायात गर्दै हुनुहुन्छ भने, यति पक्कै निश्चित हुनुहोस्, जहिल्यै पनि बाटो बाधित हुनसक्छ। आज राजमार्ग 10 र 31 भएर हिँड्दै हुनुहुन्छ भने उल्टै फर्किँदा हुन्छ। बाटो पूर्णरूपले ठप्प छ।
एउटा ठाउँमा मात्र होइन राजमार्गभरि नै पैह्रो झरिरहेको छ। पीडब्ल्यूडीको एनएच-10 विभाग टीमले पैह्रो त सोर्दैछ, तर एउटा सोह्रोरिनसक्दै अर्को झरिहाल्ने स्तिति छ।  भसुवा, सेती झोडा, कालीझोडा, 18 माइल,  29 माइल भोटेभीरलगायत अन्य ठाउँमा पैह्रो झरिरहेको छ।
अर्कोतिर राष्ट्रिय राजमार्गको अवस्था सोचनीय बनेको छ। ठाउँमा उर्लेका खहरेहरू बगाएको ढुङ्गासहितको हिले माटो सड़कभरि थुप्रिएको छ। यस्तै हिलोमाटोले काली मन्दिर छेउ नजिक सड़क किनारमा रहेको दुईवटा दोकानलाई बगाएको छ। यद्यपि ज्यानको कुनै क्षति भएको समाचार छैन। साना ठूला ढुङ्गासहित हिलोमाटो राजमार्गको ठाउँ ठाउँ थुप्रिएकोले यातायात ठप्प छ। यातायात पुर्नबहालीमा समय लाग्ने निश्चित छ। यात्रुहरूको समस्या दुई गुणा बढ़िरहेको छ। पीडब्ल्यूडी विभागसँग पैह्रो सोर्नका लागि जे जति सादन छ, त्यो पर्याप्त छैन। शनिवार राति पनि यस्तै गरी पानी परिरहे, राजमार्गको अवस्था विकराल बन्ने निश्चित छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here