भारत-नेपाल सन्धिको धारा 7 गोर्खाल्याण्डका लागि बाधा : विनय तामाङ

0
1962
विनय तामाङ (फोटो मुकेश शर्मा)

मुकेश शर्मा

कालेबुङ, 5 मार्च : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्ष एवं गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पुनः भारत नेपाल शान्ति तथा मैत्री सन्धि 1950-लाई संशोधन गरिनुपर्ने माग गरेका छन्।

मङ्गलबार कालेबुङमा पत्रकारहरूसँग कुराकानी गर्दै विनय तामाङले यस्तो माग गरेका हुन्। उनका अनुसार यो सन्धिलाई संशोधन गरिएसम्म गोर्खाल्याण्डको आन्दोलन सफल हुनेछैन।

“भारत-नेपाल सन्धि रिभाइज र रिभ्यु हुनुपर्छ। यो कुरा मैले तेस्रो मोर्चाअघि राखिसकेको छु। जबसम्म यो सन्धि रिभाइज हुँदैन, रिभ्यु हुँदैन। उक्त सन्धिको धारा 7 हटाइँदैन, तबसम्म हामीलाई सधैँ विदेशीको लाञ्छना लगाइरहन्छ”, विनयले भने।

यसका लागि केही दिनअघि दार्जीलिङकै सांसद एसएस अहलुवालियाले दिएको भूमिपुत्रको कुरा गर्नेहरू धेरजना नेपालका हुन् भन्ने बयानलाई उदाहरणका लागि उनले अघि राखे।

उनका अनुसार भारत-नेपाल शान्ति तथा मैत्री सन्धिलाई संशोधन गर्न र यसको धारा -7 हटाउनका लागि दार्जीलिङका सबै राजनीतिक पार्टीले केन्द्रलाई दबाउ दिन पर्नेछ। यो सन्धि संशोधन नभएसम्म गोर्खाल्याण्डको आन्दोलन चुचुरोमा पुग्न असम्भव रहेको पनि तामाङको भनाइ छ।

“गोर्खाल्याण्डको बाधा मैले भारत-नेपाल सन्धिमा देखिरहेको छु”, उनले भने। यसबारे नेशनल गोर्खाल्याण्ड कमिटी (एनजीसी)-का प्रतिनिधिहरूले पनि आफूसँग भेट गरेको र त्यसबेला भेटवार्तामा लालकोठीमा एनजीसीका प्रतिनिधिलगायत पहाड़का अन्य राजनीतिक दललाई यसै कुरा भनेको बताए।

विनयका अनुसार पहिला गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्नअघि पहाड़का राजनीतिक दलहरूले उक्त सन्धिको संशोधनका लागि चाप दिनुपर्छ।

“जुन दिन चाप हुन्छ। र सन्धिमा रहेको ‘रेसिप्रोकल’ भन्ने शब्द हटिन्छ, त्यो दिनदेखि भारतीय गोर्खा र नेपालका नागरिक भनेर छुट्टिन्छ। त्यसपछि मात्र हामीमाथि लाग्ने विदेशीको लाञ्छना हटिन्छ”, उनले थपे, “म भारत-नेपाल सन्धि संशोधन गरिनुपर्छ भन्ने कुरामा लागेको छु। सन्धिमा रेसिप्रोकल भएकोले नेपालका नागरिकहरू यहाँ आएर बस्नसक्छ। केही पनि गर्नसक्छ। यहाँकाहरू उता जानसक्छ। यसैले नै हामीलाई विदेशीको लाञ्छना लागिरहेको छ। यसमाथि मैले ध्यान दिइरहेको छु। हाम्रो पार्टीले यसमाथि ध्यान दिइरहेको छ।”

तेस्रो मोर्चाअघि पनि आफूहरूले यसै मुद्दालाई प्रभावशाली रूपमा राखिरहेको र तेस्रो मोर्चाको सरकार आए मोर्चाले यो मागलाई सरकारअघि राखेर उक्त सन्धिको धारा -7 हटाउनका लागि कार्य गर्ने तामाङको भनाइ छ।

उनले दार्जीलिङका राजनीतिक पार्टीहरूले गोर्खाल्याण्डको मुद्दालाई मागी खाने भाँड़ा बनाइरहेको र अहिले चुनाउको मुखमा पहाड़का राजनीतिक दलहरूले फेरि गोर्खाल्याण्ड भनिरहेको पनि आरोप पनि विनयले लगाए।

“हामीले तेस्रो मोर्चाअघि राखेको 8 वटा मुद्दामा पहिलो नम्बरमा भारतीय गोर्खाहरूको चिह्नारी र सुरक्षाको पहल गरिनुपर्छ भन्ने कुरा पहिलो नम्बरमा राखेका छौं। त्यहाँ गोर्खाल्याण्ड शब्द छैन तर चिह्नारी शब्दले केही बुझाउँछ”, उनले भने।

अर्कोतिर विनय तामाङले हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एलबी राईले दिएको बयानप्रति जोगिएरको प्रतिक्रिया दिएका छन्। उल्लेखनीय छ, हिजो हिल एलबी राईले पहाड़मा तृणमूल कङ्ग्रेस सबैभन्दा शक्तिशाली पार्टी रहेको कुनै पार्टीसँग गठबन्धन नगरी आफ्नै बलबुतामा आगामी लोकसभा चुनाउ जित्ने ठोकुवा गरेका थिए।

राईको यसै बयानमाथि सोधिएको एक प्रश्नको उत्तरमा उनले आफूले हिल तृणमूलका अध्यक्षको बायन आधिकारिक रूपमा नसुनेको/थाह नपाएको बताए।

गोजमुमोसँगै तृणमूल कङ्ग्रेस पनि मोर्चा मोर्चाको घटक दल रहेकोले यो एकलै चुनाउ लड़्ने बयान हिल तृणमूलको अड़ान हुनसक्ने बताए।

तामाङले चुनाउको उम्मेद्वारिताबारे हिल तृणमूल कङ्ग्रेसको अहिलेसम्म कुनै प्रकारको छलफल नगरेको बताए। यद्यपि उनका अनुसार पछिल्लो समय तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आउँदा भने उनीसँग मोर्चाले चुनाउबारे छलफल गरेको थियो।

“छलफलमा हामीले यसपालि लोकसभा चुनाउमा दार्जीलिङ पहाड़बाट भूमिपुत्र उम्मेद्वार हुनुपर्ने माग गरेका थियौं। यो विषयमा दुई-तीनपटक हाम्रो चर्चा परिचर्चा भएको छ। तर फाइनल डिसिजन भइहालेको छैन”, विनयले भने, “यसैले कसैले पनि अहिले चुनाउलाई यो हो त्यो हो भन्न सक्दैनन्। एउटा कुरा सत्य हो, यसपालिको चुनाउमा उम्मेद्वार भूमिपुत्र हुनेछन्। भूमिपुत्र मात्र होइन, भूमिपुत्री पनि हुनसक्छन्।”

साथै आगामी चुनाउलाई लिएर तृणमूल कङ्ग्रेसको केन्द्रिय नेतृत्व र चुनाउ कमिटी (जसमा 12 सदस्य छन्)-सँग मोर्चाले कुराकानी गर्ने बताए।

पहाड़मा गोजमुमोको आशीर्वाद जसमाथि रहन्छ, उसले नै चुनाउ जित्ने सम्भावना रहन्छ”, उनले भने। पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले आगामी लोकसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-लाई पराजित गर्नका लागि कुनै पनि कसरत बाँकी नराख्ने बताए।    

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here