सिलगढी, २६ मार्चः सिटोङनिवासी समाजसेवी एवं पर्यटन व्यवसायी तितस लेप्चाको स्मृतिमा यस वर्षदेखि शुरू गरिएको तितस लेप्चा स्मृति साहित्य पुरस्कार सोनादानिवासी युवा साहित्यकार नरेश कटुवाललाई प्रदान गरिनेछ।
आउँदो २८ मार्चका दिन लोअर सिटोङस्थित तितस लेप्चा स्मृति पुस्तकालयमा एक कार्यक्रमबिच कटुवाललाई यो पुरस्कार अर्पण गरिनेछ।
पुरस्कृत साहित्यकार रनेश कटुवालका गाउँका निलडामहरू ( कविता सङ्ग्रह-२०१३), मूर्तिहरू (कविता सङ्ग्रह-२०२१), निर्वासित गीतहरू (गीत सङ्ग्रह-२०२१) र सङ्ग्रहण (लेख सङ्ग्रह-२०२१) प्रकाशित छन्।
अर्कोतर्फ, तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार सिटोङ – २ की मेधावी विद्यार्थी स्वेता छेत्रीलाई प्रदान गरिनेछ। यो पुरस्कार पनि २८ मार्चकै दिन अर्पण गरिनेछ।
गत वर्ष दशौँ श्रेणीको बोर्ड परीक्षामा सिटोङ क्षेत्रबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका कारण छेत्रीलाई यो पुरस्कार प्रदान गरिने भएको हो।
स्मरण रहोस्, समाजसेवी एवं पर्यटन व्यवसायी तितस लेप्चाको २८ मार्च २०२० मा निधन भएको थियो।
उनको स्मृतिमा परिवारपक्षले यस वर्षदेखि यी दुईवटा पुरस्कार शुरू गरेको हो। दुवैवटा पुरस्कार बर्सेनि प्रदान गरिने पनि परिवारपक्षले बताएको छ।