कालेबुङ, ८ अप्रेलः १६ माइल अप्पर पैयुँ प्रधान गाउँनिवासी ३७ वर्षीय राकेश प्रधानको मृत्यु मामिलामा पुलिसले आज चारजनालाई पक्राउ गरी कालेबुङ कोर्टमा उभ्याएको छ।
पक्रा पर्नेहरूमा मृतक राकेश प्रधानकी छोरी स्मिता प्रधान, कान्छा भाइ ओम कुमार प्रधान उर्फ विवेक, ओमकुमारकी श्रीमती अञ्जु प्रधान राई र साथी अमृत छेत्री रहेका छन्।
उनीहरूविरुद्ध भारतीय दण्डसंहिताको धारा ३०२/३४ अन्तर्गत मुद्दा लगाइएको छ।
स्मरणरहोस्, ५ अप्रेलका दिन राकेश प्रधान र उनका कान्छा भाइ ओम कुमार प्रधानबिच झगडा भएको थियो।
दाजुले घरको कुखुरा चोरेर बेचेको निहुँमा यी दाजु-भाइ झगडा परेका थिए, जसमा दाजु राकेश प्रधान घाइते भएका थिए भने भोलिपल्ट अर्थात ६ अप्रेलका बिहान दाजुको मृत्यु भएको थियो।
यसैबिच, आफ्ना दाजुलाई कुटेरै मारेको बताउँदै मृतकका माइला भाइ विशाल प्रधानले अलगढा पुलिस आउट पोस्टमा उजुरी दर्ता गरेका कारण यी चारजनालाई पक्राउ गरिएको हो।