सिलगढी, ६ मईः प्रथम शशिप्रभा स्मृति पुरस्कार २०२२ तल्लो सिटोङनिवासी युवा कथाकार सन्ध्या आचार्यको कथा सङ्ग्रह पराकम्पनलाई प्रदान गरिनेछ।
सालबारीस्थित गोम्देन टी बारको स्व. सबिता गोम्देन साहित्यिक कक्षाबाट वरिष्ठ साहित्यकार मोहन ठकुरीले यसको घोषणा गरे।
मिरिक प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापिका स्व. शशिप्रभा बान्तवाको स्मृतिमा यो पुरस्कार उनका पति साहित्यकार/समाजसेवी विजय बान्तवाले हाम्रो किताब घरमार्फत प्रदान गर्नेछन्।
आउँदो २९ मईका दिन मिरिकमा एक कार्यक्रमबिच सन्ध्या आचार्यलाई प्रथम शशिप्रभा स्मृति पुरस्कार अर्पण गरिनेछ। पुरस्कारका रूपमा नगद राशि ५० हजार रुपियाँ र स्मृति चिह्न रहनेछन्।
यसै कार्यक्रममा साहित्यकार विजय बान्तवाको पाँचौँ कृति मित्याङ्सा (उपन्यास) पनि लोकार्पण गरिनेछ।
हाम्रो किताब घरको पक्षमा छेवाङ योञ्जनले जानकारी गराएअनुसार जुरी सदस्यहरूमा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा, प्राध्यापक/साहित्यकार ड. कविता लामा र कवि/समालोचक सुधीर छेत्री थिए।
यी तीनैजना जुरीले पुरस्कारका लागि सन्ध्या आचार्यको कथा सङ्ग्रह पराकम्पनलाई छाने।
आज पुरस्कार घोषणा कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन ठकुरीलगायत जुरी सदस्य ज्ञानेन्द्र खतिवडा, रविरत्न स्कूलकी पूर्व प्रधान अध्यापिका निलामणि राई, पुरस्कार प्रायोजक विजय वान्तवा कैलाशी, हाम्रो किताब घरका छुदेन काविमो, छेवाङ योञ्जन,आशिष लिम्बू, रिपोटर्स क्लब मिरिकका अध्यक्ष मुस्कान खेसाङ राई, उपाध्यक्ष विनोद प्रसाईं, महासचिव प्रवेश हाङ्खिम आदि पनि उपस्थित थिए।
उल्लेखनीय छ, सन्ध्या आचार्यको पराकम्पन र कथा कतिपय गरी दुईवटा कथा सङ्ग्रह प्रकाशित छन्।