गान्तोक, २९ मईः उत्तर सिक्किमको लाचुङतर्फ गइरहेको एसके ०३जे/०५५१ नम्बरको वाहन दुर्घटना हुँदा पाँचजना पर्यटक र चालक गरी कुल ६ जनाको मृत्यु भएको छ।
यो मर्मान्तिक सडक दुर्घटना हिजो राति लाचुङ प्रहरी चौकीदेखि करिब १३ किलोमिटर तल खेदुम भिरमा भएको हो।
यस दुर्घटनामा परी भारतको महाराष्ट्रनिवासी पर्यटक सुरेश पुनमिया, तोरल पुनमिया, देवांशी पुनमिया, हिरल पुनमिया र जयम परमार तथा चालक सोमी विश्वकर्माले ज्यान गुमाएका छन्।
यी पर्यटकहरू केही दिनअघि सिक्कि घुम्न आएका थिए भने उनीहरू हिजो सिक्किमको प्रसिद्ध पर्यटनस्थल लाचुङतर्फ गइरहेका थिए। यसैअवधि खेदुम भिरमा उनीहरू चढेको वाहन दुर्घटनामा परेको हो।
लाचुङ प्रहरीका अनुसार महाराष्ट्रबाट सिक्किम घुम्न आएका तीन परिवार बेग्ला-बोग्लै तीनवटा वाहनमा सवार भई शनिवार राति लाचुङतर्फ हिँडेका थिए ।
यी तीन परिवारमध्ये दुई परिवार मात्र लाचुङ पुगे भने एक परिवार बाटोबाटै बेपत्ता बने । त्यसपछि लाचुङ र चुङथाङ प्रहरी बलले हिजै रातिदेखि खोजी कार्य शुरू गरेको थियो ।
खेदुम भिरबाट वाहन दुर्घटना भएको पत्तो लागेपछि आज बिहान लाचुङ प्रहरी बलले सेना र अन्यको सहयोगमा मूल सडकदेखि करिब ६०० फुट तल भिरबाट ६ जनाकै शव निकालेको हो।