पुरण गिरीकृत ‘मर्मको मिठास’ सार्वजनिक

0
909

सिलगढी, ३० मईः नेपाली सङ्गीत जगतका एक सुप्रसिद्ध गायकको वास्तविक प्रेम-कथामाथि आधारित काल्पनिक गीतिनाटक ‘मर्मको मिठास’ सिलगढीमा शनिबार एक कार्यक्रमबिच लोकार्पण गरियो।

नेपाली साङ्गदीतिक जगतकी लोकप्रिय गायिका/सङ्गीतकार सुश्री शान्ति ठटालको अध्यक्षतामा एवं समाजसेवी/कलाप्रेमी श्रीमती लक्ष्मी साइजुको मुख्य आतिथ्यमा गिरीकृत ‘मर्मको मिठास’-को लोकार्पण सिलगढीको देवकोटा सङ्घको भवनमा लोकार्पण गरिएको हो।            

अध्यक्षताको सम्बोधनमा सुश्री ठटालले नेपाली सङ्गीतको स्वर्णकालदेखि समकालीन समयसम्मको प्रवृत्तिगत विकासक्रमतिर इङ्गित गर्दै “आजका श्रोता गीतको शब्द-सौन्दर्यप्रति सचेत रहेकाले बताइन्।

यसैले पनि आज गीतलेखनको महत्त्व अझ बढ़ेर गएको उनको भनाइ थियो।

सर्जकीय सम्बोधनमा कृतिकार पुरण गिरीले आफ्नो खुशी व्यक्त गर्दै यस कृति लेखनमा यहाँले एउटा छुट्टै लेखकीय प्रसव-पीड़ाबाट गुज्रनु परेको अनुभव साझा गरे।

साथै नेपाली साहित्यमा आफूले गीत लेखनद्वारा निरन्तर सेवा गरिरहनु पाउनु आफ्ना लागि विशेष उपलब्धि रहेको पनि जनाए।

किनारीकरण लेखनका प्रणेता, साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बाले लोकार्पित पुस्तकमाथि समीक्षा राख्दै नेपाली साहित्यमा यसखाले पुस्तक प्रकाशन विरल घटना रहेको बताए।

“पुरण गिरी अब गीतकारबाट कवि भएका छन्,” सुब्बाले भने।

‘दार्जीलिङे गीत परम्परामा पुरण गिरीका गीतहरू’ विषयमा विशद् वार्ता राख्दै बनारस हिन्दु विश्वविद्यालयका वरिष्ठ प्राचार्य ड. दिवाकर प्रधानले गीत परम्पराको वैश्विक इतिहास प्रस्तुत गरे। ड. प्रधानले गीत र कवितामा फरक नरहेको मन्तव्य राख्दै गीत मानव सभ्यताको आदिकालदेखि चलिआएको अभिव्यक्ति माध्यम रहेको बताए ।

यस लोकार्पण कार्यक्रममा मनप्रसाद सुब्बा, ड. मोहन पी दाहाल, ड. दिवाकर प्रधान,  ड. शरद सिन्हा, ड. सुजाता रानी राई, ड. पुष्कर पराजुली, ड. सञ्जय बान्तवा, ड. कविता लामा, मिलन रुचाल, पीटी यल्मो आदि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

‘मर्मको मिठास’ पुस्तक प्रकाशन गर्ने संस्था बुक-आन्ट-को पक्षमा स्वागत सम्बोधन सुरज गुरुङले राखेका थिए । बुक-आन्ट स्तरीय लेखकहरूको खोजीमा रहेको जनाउँदै पुरानासँगै नयाँ पाठक आकर्षित गर्ने जमर्कोमा बुक-आन्टले प्रकाशन उद्योगमा नयाँ पहल गर्ने उद्देश्य राखेको जानकारी गराए।

यति मात्र गुरुङले सालबारीस्थित बुकआन्टले अहिले अनलाइन पुस्तक वितरणको व्यवस्था समेत गरिरहेको पनि बताए। 

यसैगरी कार्यक्रममा लोकप्रिय गायक महेश सेवा, खरसाङका सङ्गीतकार-गायक महेश्वर लामा र नवोदित गायिका सुश्री काव्य पोर्तेलले पनि आ-आफ्नो सुन्दर गायन प्रस्तुत गरेका थिए। समारोहमै डिजिटल कम्पनी ‘मोन्क-आन्ट’-को वेबसाइट समेत सार्वजनिकीकरण पनि गरियो। कार्यक्रमको सञ्चालन दार्जीलिङका कवि/ गीतकार कमल रेग्मीले गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here