पैह्रोले बेहाल उत्तर सिक्किम, सयभन्दा अधिक घर क्षतिग्रस्त, ठाउँ-ठाउँको पैह्रोले राजधानीसँग विच्छिन्न उत्तर

0
1035

पैह्रोले चुँडिएको मङ्गन-चुङथाङ सड़क।
प्रकाश अधिकारी
गान्तोक, 14 सेप्टेम्बर : राज्यमा लगातार रूपमा भइरहेको वर्षाका कारण उत्तर सिक्किम सबैभन्दा अधिक प्रभावित बनेको छ। अविरल वृष्टिपातका कारण उत्तर सिक्किमका नब्बे प्रतिशतभन्दा अधिक गाउँ पैह्रोको चपेटमा परेका छन्। राज्य सरकारद्वारा आधिकारिक रूपमा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, उत्तर जिल्लाका प्रायःजसो पुल, कल्भर्ट, सड़क पैह्रोको प्रभावमा परेका छन्। यातायात पूर्वाधार पैह्रोले बगाएको छ भने ठूलो कृषिभूमि पनि पैह्रोले सोरेको छ।
मङ्गन कन्या विद्यालयको क्षतिग्रस्त ग्यालेरी।
पैह्रोले सयभन्दा अधिक घर र भवनहरू क्षतिग्रस्त बनाएको छ। मङ्गन कन्या विद्यालयको ग्यालेरी पैह्रोले क्षति पुऱ्याएको छ। अम्बिथाङमा गएको पैह्रोको कारण उत्तर सिक्किमको मुख्यालय मङ्गन जिल्लाका अन्य भागसँग विच्छिन्न बनेको छ। मङ्गन र चुङ्थाङबीचको राफोङ खोलामा पुल बगाउनाले चुङ्थाङ पनि मूलप्रवाहबाट अलगथलग परेको छ। चुङ्थाङस्थित टिस्टा ऊर्जाको 1200 मेगावाट क्षमता भएको जल विद्युत परियोजना पैह्रोको कारण प्रभावित बनेको छ। सूचना तथा जनसम्पर्क विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उत्तर सिक्किमको टुङमा रहेको बेली पुल पैह्रोले बगाएको छ। जङ्गु क्षेत्रका अनेकौं गाउँ पैह्रोको प्रत्यक्ष प्रभावमा आएका छन्। 
मान्ताम झीलको छेउमा गएको पैह्रोले अप्पर जङ्गुको सम्पूर्ण क्षेत्र विच्छिन्न बनेको छ। उल्लेखनीय छ, मान्तामको पैह्रोको कारण विगत दुई वर्षदेखि अप्पर जङ्गुले व्यापक कठिनाइ झेल्दै आएको छ। राफोङ खोलाको वरिपरिका गाउँमा लगातार रूपमा पैह्रो जाने क्रम जारी रहेको पनि सरकारी विज्ञप्तिमा जनाइएको छ। जिल्ला प्रशासनले पैह्रो प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने अनि राहत कार्यलाई गति दिने कार्य बढ़ाएको छ। विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले आज उत्तर सिक्किमका सबै विद्यालय बन्द राखेको छ भने शनिवार पनि बन्द राख्न विद्यालय कतृपक्षलाई निर्देश दिएको छ। उत्तर जिल्लाका जिल्लापाल कर्मा आर. बोनपोले घटनालाई नजिकबाट अनुगमन गरिरहेका छन्। विभागीय टोलीलाई लिएर उनी प्रभावित क्षेत्रका भ्रमणमा रहेका छन्। 
जिल्ला प्रशासनले अझ सतर्कता अपनाउँदै चारजना वरिष्ठ अधिकारीहरूलाई घटनाको अनुगमन गर्ने निर्देश जारी गरेको छ। प्रशासनले आम जनताका सुविधाको निम्ति नियन्त्रण कक्ष पनि खोलेको छ। उत्तर जिल्लाका जिल्लापाल कार्यालयका वरिष्ठ अधिकारी डीटी भोटिया, अवर सचिव छाकदोर ओङ्मु, फूर्बा टाशी शेर्पा र अमीर सुब्बालाई घटनाको अनुगमन गर्न प्रशासनले खटाएको छ। यसरी नै आम जनताका निम्ति हेल्पलाइन नम्बर 03592-234856 जारी गरिएको छ। मङ्गन, चुङ्थाङ, टुङ, जङ्गुबाहेक टिस्टा खोलाको वारिपट्टि रहेको माङ्शिलामा पनि पैह्रोले धेरै घर क्षति पुऱ्याएको छ। हिमाली बेलासँग कुराकानी गर्दै उत्तरका जिल्लापाल कर्मा आर. बोनपोले भने,“उत्तर सिक्किमको स्थिति भयावह छ। हामीले नजिकबाट सबै घटनालाई निगरानी गरिरहेका छौं। जिल्ला प्रशासनबाट हुने राहत जनतालाई दिने काम गर्दैछौं। सबै क्षेत्रमा म आफै पुग्न नसके पनि हाम्रा अधिकारीहरू घटनास्थलमै पुगेर जनतालाई सान्त्वना दिने काम गर्दैछन्। धेरै ठाउँमा पुल बगाएकोले समयमा राहत दिन पनि सकिएको छैन। सबै क्षयक्षतिको आकलन गरेर उच्च प्रशासनिक तहमा बुझाउने कार्य हुँदैछ।
यस सम्बन्धमा राज्य आपदा प्रबन्धन विभागका संयुक्त सचिव तथा विभागीय प्रवक्ता गणेश खनालले भने,“उत्तर सिक्किममा जति क्षति हुँदैछ, त्यो वर्षाको पानीको कारणले भएको हो। पश्चिम सिक्किम पनि पैह्रोले प्रभावित बनेको छ। हाम्रा अधिकारीहरू घटनास्थलमा पुगिसकेका छन् र क्षतिको ब्यौरा टिप्दैछन्। भोलिसम्ममा हामी सबै रिपोर्ट तयार गरिसक्नेछौं। विभागीय मन्त्री तथा मुख्यमन्त्री पवन चामलिङलाई सबै रिपोर्ट बुझाइनेछ। मुख्यमन्त्रीले पनि यस सङ्कटको समयमा जनताका साथमा बस्न विभागलाई निर्देशन दिएका छन्।
क्षेत्रको निरीक्षण गर्दै राज्यका मन्त्री टीडब्ल्यू लेप्चा र विधायक एसजी लेप्चा।
उत्तर सिक्किमको पैह्रोको निरीक्षण गर्न आज राज्यका वन मन्त्री छिरिङ वाङ्दी लेप्चा र  सिक्किम विधानसभा उपाध्यक्ष तथा जङ्गुका विधायक सोनाम ग्याछो लेप्चा जङ्गु पुगे। पैदल हिँड़ेर घरघर पुगी उनीहरूले जनताका हालचाल सोधे अनि राहत वितरणमा प्रत्यक्ष निर्देशन दिए। जङ्गु भ्रमणको क्रममा  मन्त्री लेप्चाले हिमाली बेलासँग टेलिफोनिक वार्तालाप गर्दै भने,“म गान्तोकबाट आज सोझै जङ्गु आएको छु। जङ्गु आउन मैले गाड़ी प्रयोग गर्न सकिनँ। धेरै ठाउँमा खोला तर्दै, पैह्रो नाघ्दै जङ्गु पुगें। उत्तर सिक्किमको स्थिति चिन्ताजनक छ। म राज्यवासीलाई अपील गर्दछुयस विपद्को घड़ीमा राज्यवासीले उत्तर सिक्किमलाई साथ दिउन्। विगतका दिनमा पनि उत्तर सिक्किममा प्राकृतिक आपदा आइलाग्दा राज्यवासीबाट हामीले धेरै सहयोग पाएका छौं, यसचोटि पनि त्यस्तै मानवीय सहयोगको अपेक्षा राख्दछौं।
उत्तरमा उर्लेको खहरेमा फड्के बनाएर तर्दै मन्त्री टीडब्ल्यू लेप्चा।
उत्तर सिक्किमको साथसाथै पश्चिम र दक्षिण सिक्किम पनि पैह्रोको चपेटमा परेको छ। पश्चिम सिक्किमको प्रायजसो भागमा अविरल वर्षाको कारण पैह्रो गएको छ। नयाँबजारलेगसेप सड़क खण्डमा पहाड़कै ठूलो अंश सोहोरिएर आउँदा बाटो24 घण्टासम्म बन्द थियो भने प्रशासनको अथक प्रयासमा शुक्रवार साँझ बाटो खोलिएको छ। गेजिङ वरिपरिका धेरै घर पैह्रोका कारण चर्किएका छन्। 
पश्चिम जिल्लाका जिल्लापाल डा. एबी कार्कीले जिल्ला प्रशासनलाई सक्रिय बनाएका छन्।  उनी आफै सम्पूर्ण जिल्लाको अनुगमन गर्नका साथै जनतालाई राहत दिने कार्य गरिरहेका छन्। दक्षिण जिल्लाका विभिन्न भागमा पैह्रो गएको समाचार प्राप्त भएको छ। बर्मेक फाटकनजिक गएको पैह्रोको कारण तिमी, याङगाङ, राभाङ्ला जाने सड़क खण्ड बाधित बनेको छ। यसैगरी, नामथाङ छेउछाउका केही घरमा पैह्रोले क्षति पुगेको छ।
पूर्व सिक्किममा अविरल वर्षा भइरहे तापनि अहिलेसम्म पैह्रोको घटना प्रकाशमा आएको छैन। तर, टिस्टा नदीको जलस्तर बढ्नाले सिङ्ताम शहरको तल्लो भाग प्रभावित बनेको छ। टिस्टा नदीको जलस्तर वृद्धिलाई जिल्ला प्रशासनले गम्भीरतापूर्वक लिँदै नजिकबाट अनुगमन गरिरहेको छ। समयसमयमा माइकिङ गरेर आम जनतालाई नदी छेउमा नगइदिन अपील गरिँदैछ। राष्ट्रिय राजमार्ग पनि पैह्रोको कारण समयसमयमा बाधित बनिरहेको छ। सिक्किम खण्डमा राष्ट्रिय राजमार्गमा कुनै व्यवधान नआए पनि बङ्गालतर्फ ठाउँठाउँमा पैह्रो जाँदा राष्ट्रिय राजमार्ग10 मा यात्रुहरूले धेरै कठिनाइ झेल्न परिरहेको छ। 
राज्यमा अत्यावश्यक सामग्रीहरूको कुनै कमी हुन नदिन राज्य प्रशासनले सबै सम्बन्धित निकायलाई निर्देश दिइसकेको राज्य सरकारका एक वरिष्ठ अधिकारीले जानकारी दिए। उनले अझ जनाएअनुसार, राज्यमा एक महिनासम्म पुग्ने सबै अत्यावश्यक सामग्रीहरू भण्डारनमा उपलब्ध छ। सत्तारूढ़ एसडीएफ पार्टीको प्रशासनिक मामिलाले आज एउटा कार्यालयीय आदेश जारी गर्दै पार्टीका सबै एकाइ र कार्यकर्ताहरूलाई पैह्रो प्रभावित मानिसहरूलाई सहयोग गर्ने निर्देशन दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here