दार्जिलिङ, २१ जूनः पहाडमा अवैध शिक्षक नियुक्तिको मुद्दा बोकेर खरसाङका विधायक बीपी बजगाइँ कोलकातास्थित सीबीआई कार्यालय पुगेका छन्।
पछिल्लो १६ जूनका दिन उनी यो मुद्दालाई बोकेर सीबीआई कार्यालय गएका हुन्, जहाँ उनले जीटीएले पछिल्लोपटक नियुक्ति दिएका १२१ प्राथमिक शिक्षक, ५९ निम्नोच्च माध्यमिक र ३१३ उच्चमाध्यमिक शिक्षकहरूका नियुक्तिको छानबिन गर्न सम्पूर्ण दस्तावेजसहित एक पत्र दिएका छन् ।
बजगाइँले बताए अनुसार यस सम्बन्धमा उनले २१ मईकै दिन दस्तावेजसहित सीबीआईलाई मेल गरेका थिए।
साथै यस सम्बन्धमा उचित छानबिन गर्ने प्रतिश्रुति सीबीआईका जोइन्ट डाइरेक्टरले दिएको पनि बजगाइँले बताएका छन्।
उल्लेखनीय छ, विनय तामाङ जीटीए बोर्ड अव् एड्मिनिस्ट्रेसनका अध्यक्ष हुँदा जीटीए क्षेत्रमा उल्लिखित शिक्षक नियुक्ति भएको हो।
स्वयं शिक्षकहरूका नाममा दिइएको उक्त नियुक्तिलाई लिएर त्यसैबेला विवाद चुलिएको हो ।
विशेष गरी स्वयं शिक्षकहरूका नाममा अवैध रूपमा राजनीतिक नियुक्ति गरिएको भन्दै पहाडका विभिन्न राजनीतिक दलले यो मुद्दालाई उठाएका थिए।