मिरिक, ४ जुलाईः मिरिकको ओकाइटी चियाकमानअन्तर्गत पुरानो स्कुल डाँडा, वार्ड नम्बर ३ निवासी ४८ वर्षीय तारा छेत्रीको जघन्य हत्या भएको घटना प्रकाशमा आएको छ।
मिरिक पुलिसले जानकारी गराएअनुसार हत्याराले यी महिलाको हत्या गरी खाटमुनि फालिदिएको थियो भने उनीसँगै बस्दै आएकी ९ वर्षीय नातिनी याङ्जी शेर्पालाई मुखमा लुगा खाँदिदिएर हात बाँधी दिवानभित्र थुनिदिएको थियो।
यो हत्या हिजो आइतवार राति भएको बताइएको छ। हात-खुट्टा बाँधेर शिरमा धारिलो हतियारले प्रहार गरी उनको हत्या गरिएको छ। पुलिसले यस घटनाको गहन अनुसन्धान शुरू गरेको छ। यद्यपि यो समाचार तयार पारुञ्जेलसम्म हत्याराको पत्तो लाग्न सकेको थिएन।
पुलिस र स्थानीय मानिसहरूका अनुसार तारा छेत्री आफ्नी ९ वर्षीय नातिनी याङ्जी शेर्पासँग बस्दै आएकी थिइन्।
उनका श्रीमान् बीएसएफमा कार्यरत छन्। छोरा बेङ्ग्लोरमा काम गर्छन्। छोरीको विवाह भइसकेका हुनाले घटनाको समयमा पनि हजुरआमा-नातिनी मात्र घरमा थिए।
आज सोमबार बिहान नातिनी दिवानबाट जसोतसो निस्केर आफ्ना बडा कहाँ गएपछि यो घटना प्रकाशमा आएको थियो ।
यस घटनाले क्षेत्रमा डरको माहोल बनेको छ। स्थानीय मानिसहरूले घटनाको निष्पक्ष जाँच हुनुपर्ने तथा हत्यारालाई चाँडो पक्राउ गरी कठोर दण्ड दिइनुपर्ने मिरिक पुलिससमक्ष माग गरेका छन्।