खरसाङ, 7 मार्च : बुधबार चियाश्रमिकहरूका विभिन्न मागलाई लिएर दार्जीलिङ टी एसोसिएशनको कार्यालय घेराउ गरेको जोइन्ट फोरमले बिहीबार मालिकपक्षलाई दबाउ दिनका लागि खरसाङ नजिक रोहिणी र सुकनाको मोहोरगाउँ चियाकमानमा गेट मिटिङ गर्यो।
जोइन्ट फोरमले पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि गेट मिटिङ शुरु गरेको हो। फोरमका अनुसार यो गेट मिटिङ आगामी 9 मार्चसम्म जारी रहेछ।
उल्लेखनीय छ, हिजो जोइन्ट फोरमले डीटीए कार्यालय घेराउ गरेको थियो। जोइन्ट फोरमको यो घेराउ कार्यक्रममा शीर्षस्थ नेताहरूको उपस्थिति थियो।
यसै घेराउ कार्यक्रमअवधि 180 दिन काममा उपस्थिति हुनुपर्ने नियम र पछिल्लो 15 नोभेम्बर 2018 -मा कोलकातामा सम्पन्न बैठकको मिनट्सको ख्रेसा पनि जोइन्ट फोरमले जलाएको थियो।
जोइन्ट फोरमका अनुसार रोहिणीमा आज सम्पन्न गेट मिटिङमा स्थानीय श्रमिकहरूको पनि बाक्लो उपस्थिति थियो भने जोइन्ट फोरमका संयोजक जेबी तामाङ, प्रवक्ता सुनिल राई, सीटुका महासचिव समन पाठक, जापका आरसी गिरीलगायत अन्यले सम्बोधन गरेका थिए।
यता, जनसंवादसँग कुराकानी गर्दै संयोजक जेबी तामाङले मालिकपक्षले चियाश्रमिकहरूका विभिन्न मागलाई पूरा नगरेसम्म निरन्तर सङ्घर्ष जारी राख्ने बताए।
उनले भने, “चियाश्रमिकहरूमाथि प्रतिदिन मालिकपक्षले अन्याय-अत्याचार र शोषण गरिरहेको कारण हामी श्रमिकहरूलाई उनीहरूको हक अधिकार र सहुलियत दिलाउनका लागि सङ्घर्ष गरिरहेका छौं। र सधैँ एकजुट भएर गरिरहनेछौं।”
उनका अनुसार मालिकपक्षले चियाश्रमिकहरूले पाउनुपर्ने सहुलियत वितरण गर्नको सट्टा 180 दिने कामको नियम र 15 नोभेम्बरको कोलकाता बैठकको मिनट्स देखाएर अन्याय-अत्याचार गरिरहेको छ। यसैले सबै चियाकमानको गेट मिटिङमा 180 दिने नियम र 15 नोभेम्बरको बैठकको मिनट्सको ख्रेसा जोइन्ट फोरमले जलाउने उनले भनाइ छ।
“हामी न त 180 दिन काममा उपस्थित हुनुपर्ने नियम मान्नेछौं। न त कोलकाताको बैठकको मिनट्सलाई नियमको रूपमा स्वीकार्ने छौं। किनभने त्यो बैठकको मिनट्स मात्र हो, हामीले सहमत छौं भनेर बनाइएको नियम होइन”, तामाङले भने।
अर्कोतिर, भोलि (शुक्रबार) दार्जीलिङ टी एसोसिएशन (डीटीए)-ले जोइन्ट फोरमलाई बैठकका लागि निम्तो गरेको पनि जेबी तामाङले जनसंवादलाई बताए।
उनले भोलिको बैठकमा डीटीएअघि पनि जोइन्ट फोरमले आफ्ना मागहरू प्रभावशाली रूपमा राख्ने र यी मागहरू चाँड़ोभन्दा चाँड़ो चियाश्रमिकहरूलाई प्रदान गर्न दबाउ दिने बताएका छन्। “हामीले अघिबाटै हाम्रा मागहरूबारे अवगत गराइसकेका छौं। यसका लागि हामीले आगामी 10 मार्चसम्मको समय दिएका छौं। भोलि हाम्रा मागहरू डीटीएले नमाने आगामी दिनमा हामी हाम्रो लड़ाइँलाई अझ सशक्त बनाउनेछौं”, उनले भने।